काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको अभियोगमा थुनछेकको बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने या धरौटीमा राखी रिहा गर्नेमध्ये एक फैसला दिने निश्चितप्रायः छ । उनीमाथिको थुनछेकको बहस सकिएलगत्तै हुने फैसलाले महरा प्रकरणको एउटा अध्याय समाप्त हुनेछ ।
महराले जर्बजस्तीको प्रयास गरेको भनिएकी रोशनी शाही नै उनको बचाऊमा अदालतमा पुगेकी छिन् । तर, बयान फेरेकाले उनी अप्ठ्यारोमा परेकी छिन् । पीडितले बयान फेरेपनि अदालतले यस्तो प्रकृतिको मुद्दामा पीडकविरुद्धको फैसला गरेका नजिरहरु छन् ।
१२ असोजको यो घटनाको भोलिपल्ट जे जस्ता विषय बाहिर आए १४ असोजबाट विपरित विषय आउन थालेको थियो । रोशनी स्वयं महराले जर्बजस्ती नगरेको विषय बाहिर ल्याइन् । त्यसपछि उनको बयान र गतिविधि आश्चर्यजनक रुपमा परिवर्तन हुन थाले । तर, अदालतले बयानका आधारमा मात्र फैसला नगर्ने गरेबाट महरा अप्ठ्यारोमा परेका छन् ।