काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा बैठक बसेको एक मन्त्रीले जानकारी दिए । यसअघि प्रधानमन्त्री डायलासिसको लागि ग्राण्डी अस्पताल गएको भनेर समाचार आएका थिए । तर, उक्त समाचारमा सत्य नभएको बालुवाटार स्रोतले दाबी गरेको छ ।
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली टिचिङ अस्पताल पुगेर एक्सरे गरेका थिए । त्यसपछि लगत्तै बालुवाटार आएर मन्त्रिपरिषद बैठकमा सहभागी भएका थिए । ओलीको मृगौलामा समस्या देखापरेपछि ग्राण्डी अस्पतालमा पुगेर दुई पटक हेमोडायलासिस गराइसकेका छन् ।
आज वा भोलिभित्रै उनी तेस्रो पटक डायलासिसको लागि पूनः ग्राण्डी जाने तयारीमा रहेको उच्च स्रोतको दाबी छ । हिजो (शनिबार) बसेको नेकपा सचिवालय बैठकमा समेत ओलीले आफ्नो स्वास्थ्यवारे नेताहरुलाई जानकारी गराएका थिए । उनले मृगौलामा छिटो छिटो समस्या देखा परेकाले अब नियमित डायलासिस वा पूनः प्रत्यारोपण गर्नुपर्ने विकल्प रहेको सुनाएका थिए ।