Logo

अख्तियारको नियन्त्रणमा रहेका टोखा नगरपालिकाका इञ्जिनियरमाथि मुद्दा चल्ने



काठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा पक्राउ गरेको इञ्जिनियर दिनेश पाठकमाथि मुद्दा चल्ने भएको छ । अख्तियारको टोलीले खोजीका क्रममा उनलाई ३ कात्तिकमा पक्राउ गरी छानविन थालेको थियो ।

पाठकले घरको निर्माण सम्पन्नका लागि पाँच लाख घूस सहयोगीमार्फत् लिएको पत्ता लागेको थियो । उनका सहयोगी प्रशान्त चौधरी १४ असोजमा पक्राउ परेपछि बयानका क्रममा पाठकको नाम लिएका थिए । पाठक पक्राउबाट जोगिन फरार भएका थिए । उनले भित्र भित्र घटना मिलाउन खोजेपनि असफल भएका थिए ।

अख्तियारको टोली पाठकलाई पक्राउ गर्न असोजको १८ गते उनको घर र कार्यालय पुग्दा टोखा नगरपालिकाभित्रबाट सूचना चुहिएको थियो । निकै मिहेनत गर्दा पनि नसकेपछि नगरपालिकाकै अधिकारीहरुको सहयोगमा पक्राउ गरिएको बुझिएको छ ।

अख्तियारका अनुसार पाठकमाथि छानविन भइरहेको छ । छानविनपछि अख्तियारले प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पाठक अख्तियारको नियन्त्रणमा रहेको पुष्टि गरे । नगरपालिकाले भ्रष्टाचारविरुद्ध सून्य सहनशीलता अपनाइआएको भन्दै कसैले गल्ती गरेमा उजूरी गर्न प्रोत्साहित गरेको बताए । उनले भने, भ्रष्टाचारको जालो तोड्नुपर्छ र त्यसका लागि नगरपालिकाले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको छैन ।

नक्शा पास र निर्माण सम्पन्नको अधिकार मेयरलाई नभएको भन्दै व्यक्ति विशेषले गरेको गल्तीको भागिदार सिंगो नगरपालिका नहुने बताए । घटनापछि मानिसहरुलाई दिग्भ्रमित पार्ने गतिविधि भएकोतर्फ सचेत रहेको समेत बताए ।

टोखा नगरपालिकामा गत वर्ष पनि एकजना प्रशासकीय अधिकृत भ्रष्टाचार अभियोगमा पक्राउ परेका थिए । अनियमितताको घटनाका कारण नगरपालिकामा अख्तियारको विशेष चासो रहँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्