Logo

सुकुटे दुर्घटनामा मर्नेको संख्या १७ पुग्यो, ७ को सनाखत



काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०-५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

दुर्घटनामा ४९ जना घाइते भएका छन् । घाइतको धूलिखेल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्दार कार्यमा खटिएका थिए । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ । प्रहरीका अनुसार बस सडकबाट ३५ मिटर तल खसेको थियो ।

बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

तस्विर : धूलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते



प्रतिक्रिया दिनुहोस्