Logo

‘हार्नेलाई पनि जितेको अनुभूति हुनेछ’ : प्रमुख निर्वाचन आयुक्त थपलिया



काठमाडौं, १८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा हार्नेले पनि जितेको अनुभूति हुने गरी विवादरहित ढङ्ले निर्वाचन सम्पन्न गर्न सबैले आफ्नो भूमिका निर्वाह गनुपर्ने बताएका छन् ।

आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनलाई ध्यानमा राखेर निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यशालाको उद्घाटन कार्यक्रममा उनले निर्वाचनमा आफ्नो हारलाई स्वीकार्न नसक्ने प्रवृत्तिले विवाद निम्त्याउने भएकाले निर्वाचन प्रक्रियालाई शुरुदेखि अन्त्यसम्म चनाखो भएर निगरानी गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचन हार्नेले पनि जितेको अनुभूति गर्ने गरी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताए । निर्वाचन भनेको मतदान गर्न पाउने र निर्वाचित हुन पाउने अधिकारको संयोजन भएकाले सबैले आआफ्नो मताधिकारको स्वच्छ रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। निर्वाचनमा सानो कुरामा पनि विवाद निकालेर राजनीतिक रुप लिने परम्परागत संस्कार देखिएकाले त्यस्ता विवादलाई तत्क्षण र तत्स्थानमै समाधान गर्ने रणनीति आयोगले लिएको उनको भनाइ थियो ।

गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव गणेश पाण्डेले स्वच्छ निर्वाचन लोकतन्त्रको मर्म भएकाले यसबाट नै लोकतन्त्रको गरिमालाई उच्च राख्न सकिने बताए। प्रमख जिल्ला अधिकारी रमेशकुमार केसीले निर्वाचन भयरहित र निष्पक्ष बनाउन सुरक्षा कार्ययोजना बनाएर संयन्त्र परिचालन गरिएको बताए।

जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले आसन्न उपनिर्वाचन सकेसम्म विवादरहित रुपमा सम्पन्न गर्न, विधि र प्रक्रियाबाट विवाद निरुपणमा सहजहोस् भनेर आयोगले उक्त कार्यक्रम गरेको बताए। उनले निर्वाचनलाई सफल पार्न पत्रकार, नागरिक समाज र राजनीतिक दललगायत सबैलाई आग्रह गरे।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले नीति, नियम, ऐन, कानून, निर्देशिका कार्यविधिभित्र रहेर निर्वाचन गराउनुपर्ने र पारदर्शी भएर निर्वाचन सम्पन्न गर्न आयोगलाई सघाउने बताए । जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर क्षेत्रीले आचारसंहिताको पालना गरेर विवादरहित निर्वाचन गरेर कास्की क्षेत्र नं २ ले उदाहरण देखाउनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आचारसंहिताको पूर्णपालनाप्रति आयोग चनाखो हुनुपर्ने धारणा राखे । आयोगका उपन्यायधिवक्ता रुद्रप्रसाद सुवेदी र शाखा अधिकृत भगवती गौतमले निर्वाचन कानून, निर्वाचन विवाद, हिंसा र कसूर, निर्वाचन विवाद निरुपण संयन्त्र तथा सुनुवाएको अधिकार क्षेत्र, सुनुवाइको अधिकार क्षेत्र तथा जनशक्ति र प्रतिवेदन सम्बन्धी व्यवस्थाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि एवं सञ्चारकर्मीलगायतको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्