काठमाडौं, कार्तिक १९ । नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम स्यार, नुब्री लार्के, पोइके र सेराके सेके छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।
चुम स्यार र नुब्री लार्के दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ ।
नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।
आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए । आजको गोरखापत्र दैनिकमा खवर छ।