Logo

हेटौंडामा नेपाल-भारत मैत्री पोलिटेक्निकको शुभारम्भ



काठमाडौं, १९ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार मकवानपुरको हेटौंडामा अवस्थित् नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश नं ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६०० भन्दा बढी स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण भइरहेको छ । M/s Nirman Consultants Pvt. Ltd (PMC) ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा M/s Telecommunications Consultants India Ltd (TCIL) ले परियोजना ठेकदारको रुपमा ३२ एकड भन्दा बढी क्षेत्रफलमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् ।’

१९,२०० वर्ग मिटर कूल निर्माण क्षेत्रफल रहेको उक्त पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको जनाईएको छ ।

उक्त परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने पनि विश्वास दिलाईएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘आजको यस परियोजना शुभारम्भ कार्यक्रम भारत नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको छ ।’



प्रतिक्रिया दिनुहोस्