काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनमा ५२ रिक्त पदका लागि मतदान हुने जनाएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी ३७ जिल्लाका ती संख्याका रिक्त पदका लागि मतदान हुने जनाएको हो ।
प्रतिनिधिसभा १, प्रदेश सभा सदस्य १, स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ समेत गरी ५२ रिक्त पदमा मतदान हुन लागेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनमा १०१ राजनीतिक दलले भाग लिन सक्नेछन् ।
उपनिर्वाचनमा सहभागी हुने मतदाताहरुको संख्या ४५४११४ रहेको आयोगले जनाएको छ । उपनिर्वाचनमा २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएको छ । आयोगले खर्च सीमा समेत तोकेको छ । प्रतिनिधिसभा सदस्यको खर्चसीमा २५ लाख रहेको छ । प्रदेशसभा सदस्यले १५ लाख, उपमहानगरपालिकाका प्रमुखले साँढे पाँच लाख, वडाध्यक्षले साँढे दुई लाख, नगरपालिकावा गाउँपालिका प्रमुखले दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले साँढे तीन लाख र अध्यक्षले डेढ लाख खर्च गर्न पाउने सीमा तोकिएको छ । Photo: Mukunda Kalikote