डडेल्धुरा, २२ कात्तिक । चिकित्सा क्षेत्र सुधारसहितका सात बुँदे माग राख्दै डडेल्धुरामा अनशनसरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । उनी अनशन बसेको आज पाँचौं दिन हो ।
विगतमा आफूसँग भएका सम्झौता पालनामा सरकार इमान्दार नदेखिएको भन्दै त्यसको पालना हुनुपर्नेलगायतका मागमा उनको अनशन केन्द्रित छ । अनशनरत केसीको मागलाई समर्थन गर्दै दैनिक सयौँ सर्वसाधरणले भेटघाट गरिरहेका छन् । उनले स्वास्थ्यमा केही समस्या देखिन थालेको पनि चिकित्सकहरुले बताएका छन् ।
पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरामा एउटा मेडिकल कलेज हुनुपर्ने माग स्थापित गराउनकै लागि अनशनस्थलका रुपमा डडेल्धुरालाई रोजेको उनको भनाइ छ । चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नुपर्नेमा सरकार उल्टै त्यसको पक्षपोषणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्रौँ सत्याग्रह थालेका हुन् ।