भारतको सर्वोच्च अदालतले अयोध्यामा हिन्दु र मुसलमानबीच जमिनको विवादमा फैसला गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हिंसा भड्काउन खोज्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । योगीले ट्वीटमार्फत् कडा कारबाहीको चेतावनी दिएका हुन् ।
उत्तर प्रदेशवासीलाई कुनैपनि हल्लाका पछाडि नलाग्न आग्रह गर्दै योगीले भनेका छन्, कुनै पनि व्यक्ति कानुनी व्यवस्थाको विरुद्ध जाने कोशिश गर्छ भने ऊमाथि कडा कारबाही हुन्छ ।
अयोध्या उत्तर प्रदेशमा पर्छ । ६ डिसेम्बर सन् १९९२ मा बाबरी मस्जिद कट्टरपन्थी हिन्दुहरुले भत्काएका थिए । उक्त स्थानमा विगतमा श्री राम मन्दिर रहेको दाबी गर्दै मस्जिदमाथि आक्रमण गरिएको थियो । अयोध्याको मुद्दा भारतको राजनीतिमा महत्वमा रहने गरेको छ ।
सन् २०१० मा अलाहावाद उच्च अदालतले २.७७ एकर्ड जमिन सुन्नी वाक्फ बोर्ड, निर्मोही अखरा र राम लल्ला गरी तीन समूहलाई बाँड्ने फैसला गरेको थियो । त्यसविरुद्ध विभिन्न समूह त्यहाँको सर्वोच्च अदालत पुगेका थिए । File Photo