काठमाडौं, २४ कात्तिक । बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले थप छ जनालाई पक्राउ गरेको हो ।
उक्त आरोपमा बिओकेका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलगायत पक्राउ परेका हुन् । श्रेष्ठलाई अदालतले पूर्वपक्षका लागि थुनामा राखेको छ । केही भने जमानतमा छुटेका छन् । राजमार्गसँगै जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नक्कली कागजात बनाएर कमनपा ३१, का सुृरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाएका थिए ।
सो आरोपमा पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इन्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३, का इञ्जिनियर कर्ण चामलिङ, मकवानपुर हेटौंडा–४, घर भई काठमाडौं–३१, बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३, महाराजगञ्ज चक्रपथ बस्ने भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९, घर भई हाल काठमाडौं नयाँ चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९, घर भई हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौँ–७, चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् । ‘उनीहरुलाईं बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ गरिएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलको बजर धितो राखेको पाइयो ।’ उनीहरुले झापा कन्काईं–९, स्थित कित्ता नं. ३५९६ को ०–२–१० बिधा र कित्ता नंं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा बनाएर खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको बताइएको छ । दोषी उपर गत असोज ६ गते नै जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो ।