काठमाडौं, कात्तिक २७ । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । आज बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता खुला गर्ने कार्यक्रम रहेको छ । स्थानीयतह सदस्य उपनिर्वाचनका लागि मुख्य र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित स्थानीय तहको केन्द्रमा यही कात्तिक २० गते स्थापना भइसकेको छ । स्थानीय तहको पदको उम्मेद्वारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेश गर्नुपर्नेछ ।
कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको प्रमाणसहित उपस्थित हुनु पर्नेछ ।
स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखका लागि एक हजार पाँच सय र वडाध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ । उपमहानगरपालिकाको प्रमुखका लागि ५ लाख ५० हजार, वडाध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि २ लाख, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार र वडाध्यक्षका लागि १ लाख ५० हजार रुपैयाँ प्रचारप्रसारको खर्च गर्न पाउने प्रावधान बनाइएको छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि भने १० दिनको समयसीमा तोकिएको छ । स्मरण रहोस स्थानीय तहको एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।