काठमाडौं, मंसिर १ । मेलम्ची खानेपानी नपुग्ने काठमाडौं उपत्यकाका केही भागमा सरकारले सिस्नेरी खोलाको पानी ल्याउने तयारी थालेको छ।सरकारले उपत्यकाको ललितपुर क्षेत्रभित्र खानेपानी आपूर्तिलाई सहज पार्ने उद्देश्यले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने तयारी थालेको हो।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन ‘भ्याली बोर्ड’ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको खानेपानीमन्त्री विना मगरले बताइन्। उनको नेतृत्वमा शुक्रबार बोर्डका पदाधिकारीसहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षणसमेत थालेको थियो।
खानेपानीमन्त्री मगरले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन्।उपत्यकाको जनसंख्यालाई मेलम्ची खोलाको पानीले सन् २०३० सम्म धान्न सक्ने आकलन गर्दै उनले बढ्दो जनसंख्यालाई समेत मध्यनजर गरी त्यसको विकल्प पनि हेर्नुपर्नेमा जोड दिएकी छन्।
सरकारले गरेको आकलनलाई मध्यनजर गर्दै ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनालाई प्रमुखताका साथ अगाडि बढाउन लागिएको उनको दाबी छ । आजको नेपाल समाचारपत्रमा खवर छ ।