काठमाडौं, ५ मंसिर । नवनियुक्त श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपालका कोही पनि युवायुवतीलाई श्रमको लागि विदेश जान नपर्नेगरि काम गर्ने विश्वास दिलाएका छन् । प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
यादवले भने,‘नेपाली युवा जनशक्तिलाई देशको समृद्धिमा लगाउने हाम्रो तयारी छ । सकभर दक्ष जनशक्ति रोजगारीको लागि विदेश जान नपरोस् । आगामी दिनमा नेपाली युवायुवती रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउन चाहन्छु ।’
उनले अहिलेको परिस्थिति देश धान्न रेमिट्यान्सले ठूलो भूमिका खेलिरहेको सुनाए । मन्त्री यादवले भने,‘तर, मेरो विश्वास के छ भने त्यो रेमिट्यान्सको आशामा युवा जनशक्तिलाई विदेश पठाउनुभन्दा विदेशमा रहेका युवाहरुलाई नेपालमै उत्पादनको क्षेत्रमा लगाउनुपर्छ । रेमिट्यान्सभन्दा बढि हाम्रो उत्पादन बढ्छ । र, हामी समृद्ध हुन्छौं ।’
उनले आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफ्नो भूमिकामा खरो उत्रिने पनि विश्वास दिलाए । उनले आफूले आजको सपथग्रहण समारोहमा दौरा–सुरुवाल लगाउनुको कारणपनि खुलाए । उनकाअनुसार यो पोशाक नेपालको राष्ट्रिय पहिचान हो ।