Logo

लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन



काठमाडौँ, ६ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीले नै यो घटनालाई सामान्य रूपमा लिनुले यसमा व्यापक अनियमितता भएको शंका उब्जिएको छ ।
आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चामल कुहिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । कम्पनीको अध्यक्षसमेत रहेका सचिव अर्यालले चामल कुहिएकोबारे आफूलाई केही जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था छ । नेपाल खाद्य संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिवर्तन भएपछि मन्त्रालयका सचिव कम्पनीको अध्यक्ष हुने व्यवस्था भएको हो । तर, आफू अध्यक्ष भएको कम्पनीको गोदाममा ठूलो परिमाणको चामल कुहिएर सरकारलाई लाखौं रुपैयाँ घाटा हुँदासमेत यसप्रति सचिव अर्यालले कुनै चासो दिएका छैनन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक योगेन्द्र गौचन कम्पनीको महानिर्देशक रहेका थिए । उनले ११ कातिकबाट अवकाश पाइसकेका छन् । हाल कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले कम्पनीको सबै जिम्मेवारी सम्हाल्दै आएका छन् । कम्पनीको गोदाममा लाखौंको मूल्यको चामल कुहिनुमा त्यहाँ कार्यरत कर्मचारीको चरम लापरबाही भएको पाइन्छ । यसका साथै सरोकारवाला निकाय वाणिज्य विभागदेखि आपूर्ति मन्त्रालयका सचिव र मन्त्रीसमेत जिम्मेवार रहेको बताइन्छ ।

यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेत उतिकै जिम्मेवार रहेको छ । कुनै सरकारी तथा निजी व्यापार कम्पनीका खाद्य गोदाम तथा भण्डारणमा राखेका खाद्यान्न वस्तुको गुणस्तर छ वा छैन भनेर अनुगमन गर्ने जिम्मा विभागको हो । तर, विभागले पनि कडाइका साथ अनुगमन गरेको देखिँदैन ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले गोदाममा थन्काएर राखेको खाद्यान्न गुणस्तरयुक्त भए नभएको बारे अनुगमन हुनुपर्ने बताए ।

कम्पनीमा कार्यरत केही कर्मचारीको लापरबाही र अनियमितता कारण कम्पनीको अवस्था खस्किँदै गएको स्रोतको दाबी छ । कमिसनको लोभमा धान चामल किन्दा वा बोरामा प्याकिङ गर्दा कमसल बोराको प्रयोग गर्नाले गोदाममा राखिएको चामल छिट्टै कुहिने गरेको स्रोतको भनाइ छ । कम्पनीमा देखिएको अनियमितताको छानबिन गर्नुपर्ने र त्यहाँ कार्यरत कर्मचारीको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने माग उठेको छ ।

कर्मचारीको लापरबाहीका कारण कम्पनीको अञ्चल कार्यालय थपाथलीको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको हो । सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ ।
कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्नसमेत कठिन भएको पाइएको छ ।
राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्