काठमाडौँ, ८ मंसिर । शनिबार बिहानै टुँडिखेलस्थित खरीको बोटमुनि जम्मा भएका साहित्यकारहरूमाझ गायक वीरप्रसाद भन्सालीले सुनाए, जनकवि दुर्गालाल श्रेष्ठको टुँडिखेल अतिक्रमणसम्बन्धी गीत ।
‘मुक्त टुँडिखेल’ नागरिक अभियानको समर्थन गर्न देशका साहित्यिक व्यक्तित्वहरू टुँडिखेलमा भेला भएका थिए । यो साहित्यिक जमघटमा स्रष्टाहरूले गीत, कविता, व्यङ्ग्यमार्फत टुँडिखेल अतिक्रमणको विरोध गरे । कविहरू श्रवण मुकारुङ, विप्लव प्रतीक, प्रभा भट्टराई, डा। रामप्रसाद ज्ञवालीलगायत नयाँ र पुराना पुस्ताका स्रष्टाहरूले सिर्जनामार्फत टुँडिखेललाई खुला बनाउन सरकारलाई आग्रह गरे ।
साहित्यिक जमघट त्यही रुखको फेदमा गरिएको थियो, जहाँ असन इटुम्बहालका नेवारले फागु पूर्णिमाका बेला गुरुमापालाई राँगाको मासु र भात चढाउँछन् । स्थानीयका संस्कृति, परम्परासँग जोडिएका धेरै मूर्त अमूर्त सम्पदाको साइनो टुँडिखेलसँग छ । तर, पछिल्लो समय यसको व्यापक अतिक्रमणपछि ती संस्कृति र परम्परामाथि चुनौती आइलागेको अनुभव यहाँका स्थानीयले गरेका छन् । ‘मुक्त टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठ भने, “हाम्रो संस्कृति, परम्परा र वातावरणमाथि चुनौती आइलागेपछि हामीले नै उठ्नुपरेको छ ।”
सहरमा टुँडिखेलजस्तो खुला स्थान जोगाउन लाग्नुपर्नेमा सरकारी निकायले नै विभिन्न नाममा आफैँ संरचना बनाउने र बनाउन लगाएकोमा स्थानीय मात्र होइन, स्रष्टाहरू पनि आक्रोशित भए । “धेरै क्रान्ति सुरुआतको मञ्च टुँडिखेलको विजोग अवस्थाले प्रजातन्त्रलाई नै गिज्याइरहेको छ । नागरिक र सरकार सबै जागेर यसको संरक्षण गर्नुपर्छ,” उन्मुक्त पुस्ता नामक साहित्यिक अभियानका कवि मुक्तान थेबाले भने, बृहत् टुँडिखेलको अतिक्रमण रोक्न बौद्धिक दबाब सिर्जना गर्नका लागि साहित्यिक जमघट आयोजना गरिएको मुक्त टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले बताए।
‘मुक्त टुँडिखेल’ नागरिक अभियानले तीन महिना टुँडिखेलमा विभिन्न दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । यो बृहत्तर टुँडिखेलको गौरवमय इतिहास र सौन्दर्य फिर्ता ल्याउने अभियान भएको सम्पदा अभियन्ता आलोक तुलाधरको भनाइ छ । उनका अनुसार टुँडिखेलमा बनेका सम्पूर्ण संरचना हटाउनुपर्ने नागरिक अभियानको माग भए पनि रत्नपार्क र सैनिक मञ्चको बीचमा रहेको खुलामञ्चको सम्पूर्ण सामग्री र संरचना हटाउन दबाब दिनु अभियानको तत्कालीन माग रहेको बताए।
इतिहासको विभिन्न कालखण्डको क्रान्ति उद्घोष गर्ने थलोसमेत रहेको टुँडिखेलस्थित खुलामञ्च अहिले अतिक्रमणले कुरूप बनेको छ । महानगरपालिकाले त्यहाँ बसपार्क सञ्चालन गर्ने अनुमति दिएको छ । अस्थायी रूपमा सञ्चालन गरिएको भनिए पनि गएको दशैँको बिदामा बसपार्क ढलान गरिएको छ । यसको स्थानीयले विरोध गर्दै आइरहेका छन् ।
त्यस्तै शौचालयको नाममा अनधिकृत व्यापारिक संरचना र गतिविधि सञ्चालन गर्दा सहरी खुला स्थलको सार्वजनिक उपभोगमा बाधा पुगेको सहरी योजनाकार राकेश महर्जन बताए। अहिले खुलामञ्चमा बसपार्क, पसल, पार्किङ, भवन, टहराजस्ता संरचनाहरूले कुरूप मात्र बनाएको छैन, चाहिएको बेला नागरिकले प्रयोग गर्न पाएका छैनन् ।
सहरी वातावरण, संस्कृति, विपद् व्यवस्थापनका लागि खुला स्थानलाई खुला स्थानकै रूपमा संरक्षण गर्नुपर्ने यो नागरिक अभियानले माग गरेको छ । लिच्छवि कालदेखि नै ठूलो चौरका रूपमा टुँडिखेल संरक्षित रहेको विभिन्न प्रमाण भेटिन्छन् ।
त्यतिबेलादेखि नै स्थानीयको कुलदेवता, जात्रापर्वसँग सम्बन्धित विभिन्न सम्पदा पनि टुँडिखेलमा रहँदै आएको छ । जङ्गबहादुर राणाले विश्वयुद्धमा जाने गोर्खाली सेनालाई परेड खेलाएको, चन्द्रशमशेरले सतीप्रथा र दासप्रथा अन्त्यको घोषणा गरेको, १९९० सालको भुइँचालो पीडितलाई राहत दिने भाषण पनि जुद्धशमशेरले यहीँ गरेको ऐतिहासिक तथ्यहरू छन् । त्यसपछिका विभिन्न क्रान्ति र आन्दोलनको उद्घोष पनि टुँडिखेलमा हुँदै आएका छन् । पहिलेको बृहत्तर टुँडिखेल रानीपोखरीदेखि दशरथ रङ्गशालासम्म रहेको स्थानीय पाकाहरू सुनाउँछन् । हाल दशरथ रङ्गशाला रहेको स्थानमा विसं २०१३ सम्म पनि पोखरी रहेको अभियन्ता आलोक तुलाधर बताउछन् । विसं २०१३ सालदेखि २०५५ सालसम्म विभिन्न चरणमा दशरथ रङ्गशाला निर्माण गरियो । यसपछि बृहत् टुँडिखेलको क्षेत्रफल खुम्चियो । पञ्चायत कालमा नै रत्नपार्क, सैनिक मञ्च, सैनिक मुख्यालयका विभिन्न भवनलगायत संरचना बनेपछि टुँडिखेलको सार्वजनिक प्रयोग खुम्चिँदै गएको जानकारहरू बताउँछन् ।
गोरखापत्र दैनिकबाट