काडमाडौँ, ८ मंसिर । राजधानीसँगै जोडिएको काभ्रे जिल्लाका खानीखोला र महाभारत गाउँपालिकामा न केन्द्रीय विद्युत् प्रसारणको लाइन छ, न बिजुलीका खम्बा नै तर पनि यी गाउँका बस्ती झलमल्ल छन् । बिजुलीको आन्तरिक खपत बढाउने विकल्पको विषयमा अहिले चर्चा भइरहँदा यी दुई गाउँपालिकामा भने बिजुलीको उपयोगबाटै आर्थिक क्रियाकलाप बढिरहेका छन् । बिजुलीको सीमित पहुँचका बीच पनि स्थानीय खुसी छन् । काभे्रकै तेमाल गाउँपालिकाका केही बस्तीमा पनि व्यवस्थित विद्युतीकरण भइसकेको छैन तर पनि बिजुलीको अभाव भने छैन ।
परम्परागत तर स्थानीय आवश्यकता पूर्ति गर्नसक्ने घट्ट यी गाउँलाई उज्यालो बनाउने सस्तो र भरपर्दा माध्यम बनेका छन् । यी तीनवटै गाउँपालिकामा घट्टबाटै बिजुली आपूर्ति हुँदै आएको छ, त्यो पनि एक दशकअघि देखि नै । बाँकी केही ठाउँमा बिजुली बाल्न यतिबेला स्थानीय सहयोगको खोजीमा छन् । अहिलेसम्म जिल्ला घट्टधनी सङ्घमार्फत यी गाउँमा सुधारिएको घट्टमार्फत विद्युत् उत्पादन गरिएको हो । घट्टधनी सङ्घ काभे्रका अध्यक्ष शिवशरण श्रेष्ठले काभे्रका विकट गाउँमा १५ वटा घट्टबाट विद्युतीकरण गरिएको बताए। जिल्लाभर ६३ किलोवाट विद्युत् घट्टमार्फत उत्पादन भइरहेको उनले जानकारी दिए।
यसमध्ये सबैभन्दा बढी खानीखोला गाउँपालिकामा ५१ किलोवाट विद्युत् उत्पादन भएको छ । महाभारत गाउँपालिकामा आठ किलोवाट र तेमाल गाउँपालिकामा ३।५ किलोवाट विद्युत् घट्टबाटै उत्पादन गरिएको छ । खानीखोला गाउँपालिकाको सल्धारा, फलामेटार र साल्मेचाकलका १२ वटा घट्टबाट विद्युत् उत्पादन गरिएको छ । महाभारत गाउँपालिकाको गोकुले र फोक्सिङटारका दुई घट्टबाट र तेमाल गाउँपालिकाको मेच्छेमा एक घट्टबाट विद्युत् उत्पादन भएको छ । सङ्घका अनुसार खानीखोला गाउँपालिकाका ५६५ घरधुरी घट्टबाट उत्पादित बिजुलीबाट लाभान्वित छन् । त्यस्तै महाभारतका ८७ घरधुरी र तेमाल गाउँपालिकाका ३५ घरधुरीले यसको उपयोग गरिरहेका छन् । जिल्लाभर ६३ किलोवाट विद्युत् उत्पादन गर्न एक करोड ८९ लाख रुपियाँ लागेको सङ्घले जनाएको छ । विद्युत् उत्पादनका लागि केही विदेशी संस्थासहित तत्कालीन जिविस, गाविस र सांसद विकास कोषको रकमसमेत उपयोग भएको थियो ।
खानीखोला गाउँपालिका ६ नारायणखोला पिको हाइड्रो विद्युतीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर लामाका अनुसार बिजुलीको कल्पना नै नगरेका यहाँका बासिन्दा घट्टमार्फत बिजुली बाल्न पाउँदा निकै खुसी छन् । ‘बत्ती आएपछि यहाँका बासिन्दाको जीवन नै फेरिएको छ’ उनले फोनमा भने, ‘चिरानी, पिसानीदेखि सिलाइकटाइसमेत बिजुलीको प्रयोगबाटै हुन थालेको छ ।’ घट्टबाट बिजुली उत्पादनको परियोजनामा संलग्न ग्रामीण प्रविधि केन्द्र ललितपुरका वरिष्ठ निर्देशक डा। पुरुषोत्तम श्रेष्ठले यस क्षेत्रमा घट्टबाट बिजुली उत्पादन गर्नसक्ने धेरै सम्भावना रहेको बताए।
स्थानीय उपभोक्ताले यसको मर्मत सम्भारका लागि निश्चित रकम तोकेर मासिक रूपमा उठाउँदै आएका छन् । यद्यपि उक्त रकम अपर्याप्त छ । स्रोतको अभावमा घट्ट बन्द हुनसक्ने चिन्ता भने रहेको सङ्घका अध्यक्ष श्रेष्ठको छ । काभे्र जिल्लामा मात्र एक हजार १२० पानी घट्ट छन्, जसमा ८४५ सुधारिएका पानी घट्ट छन् । १२० घट्टमा धान, तेल, चिउरा, मसला, स–मिल, काठ चिरानीसमेत हुँदै आएको सङ्घले जनाएको छ ।
गोरखापत्र दैनिकबाट