मस्कट, ८ मंसिर । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमान अधिराज्यका पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीसँग महत्वपूर्ण भेटवार्ता गरेकी छिन् । मन्त्री मेहार्जीको कार्यकक्षमा भेटी नेपालमा निकट भविष्यमा हुन गैरहेको नेपाल भ्रमण वर्ष–२०२० को बृहत समुद्घाटन कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनको लागि निमन्त्रणा दिएकी छिन् ।
दुतावासले जारी गरेको विज्ञप्तीअनुसार राजदुत पराजुलीले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पठाएको निमनत्रणा पत्र ओमानका पर्यटनमन्त्री मेहार्जीलाई हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा उनीहरुबीच नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्नेबारे तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको थियो ।
राजदुत पराजुलीले नेपालले आगामी बर्ष मनाउन गइरहेको नेपाल भ्रमण बर्ष–२०२० को पृष्ठभूमि तथा तयारीबारे ओमानी पर्यटन मन्त्रीलाई जानकारी गराएका थिए । राजदुत पराजुलीको निमन्त्रणा स्विकार गर्दै मन्त्री मेहार्जीले आफू नेपाल भ्रमणमा जान इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।