Logo

पाकिस्तान निरीह



काठमाडौँ, ९ मंसिर । ब्रिसबेन स् पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई एक पाली र पाँच रनको विशालअन्तरले पराजित गरेको छ। जितसँगै अस्ट्रेलियाले दुई खेलको शृंखलामा १—० को अग्रता हासिल गरेको छ। पहिलो टेस्टको चौथो दिन आइतबार भ्रमणकारी टोली पाकिस्तान आफ्नो दोस्रो पालीमा तीन सय ३५ रनमा अलआउट भएसँगै नतिजा अस्ट्रेलियाको पक्षमा गएको हो।

दोस्रो पालीमा पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान बाबर आजमले एक सय चार रन बनाए। उनले एक सय ७३ बलको सामना गरी १३ चौका पनि प्रहार गरे। विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान भने केवल पाँच रनका कारण शतक पूरा गर्नबाट चुके। उनले एक सय ४५ बलको सामना गरी १० चौकाको मद्दतले ९५ रन बनाए। दोस्रो पालीमा खासगरी पाकिस्तानका लागि अग्रपंक्तिका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। ओपनर सान मसुद ४२ रनमा आउट भए भने त्यसपछिका तीन ब्याट्सम्यानले दोहोरो संख्यामा रन जोड्न सकेनन्। कप्तान अजहर अली पाँच, ह्यारिस सोहिल आठ र असाद सफिक शून्य रनमै पेभेलियन फर्किएका थिए। तल्लो क्रममा ब्याट्सम्यान यासिर शाहले ४२ रन थपेका थिए।

दोस्रो पालीमा अस्ट्रेलियन बलर जस हेजलउडले चार विकेट लिए। मिचेल स्टार्कले तीन र प्याट कुमिन्सले दुई विकेट हात पारे। अर्को एक विकेट नाथन लियोनले लिए। यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा पाँच सय ८० रनको विशाल योगफल तयार पारेको थियो। अस्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले एक सय ५४ रन बनाए। मार्नस लाबुसचाग्नेले पनि एक सय ८५ रनको योगदान गरेका थिए। उनी म्यान अफ दी म्याच घोषित भए। अर्का ओपनर जोय बर्नस भने ९७ रनमा आउट भएका थिए। त्यसअघि टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तान आफ्नो पहिलो पालीमा दुई सय ४० रनमा अलआउट भएको थियो।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्