Logo

कास्की-२ मा कांग्रेसले चौबिस सय फराकिलो मतले जित्ने दाबी



काठमाडौं, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँस्की क्षेत्र नम्बर २ मा आफ्नो पार्टीका उम्मेद्धवारले दुई हजार चार सयभन्दा फराकिलो मतले चुनाव जित्ने दाबी गरेका छन् । सोमबार काँस्कीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको विश्वास दिलाए । त्यस्तै, प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए । भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनले बताए ।

देशैभरिको उपनिर्वाचनको वातावरण काँग्रेसका पक्षमा भएको दाबी गर्दै उनले कास्की क्षेत्र नं २ मा हुने निर्वाचनमा पार्टीले दुई हजार ४०० भन्दा फराकिलो मतले जित्ने सूचना प्राप्त भएको जानकारी दिए ।

कास्की क्षेत्र नं २ मा काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको बताउँदै उनले चुनावमा काँग्रेस पार्टीभित्रको एकता मजबुत रहनुका साथै सरकारका गतिविधिका कारण पार्टीलाई निर्वाचन जित्न सहज बनाएको उल्लेख गरे । वर्तमान सरकारलाई सच्चिन दबाब दिनका लागि कम्युनिष्ट कार्यकर्तालाई पनि यस पटक काँग्रेसको रुख चिह्नमा मतदान गर्न उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्