Logo

शुल्क बढी लिने मेडिकल कलेज संचालकहरुलाई पक्राऊ गर्न प्रहरी तयारी अवस्थामा



काठमाडौं, ९ मंसिर । सरकारले १५ दिनभित्र बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई दिएको अल्टिमेटम मङ्गलबार सकिंदैछ । बुधबारबाट रकम फिर्ता नगर्नेमाथि कडा कारबाही गर्न गृह मन्त्रालयले तयारी थालिसकेको छ । यसका लागि तयारी पूरा भइसकेको बुझिएको छ ।

मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले मातहतका निकायलाई कारबाही अगाडि थाल्ने निर्देशन दिए । गृहका उच्च अधिकारीसहित महान्यायाधिवक्ता अग्नि खरेल, आइजीपी सर्वेन्द्र खनालका अलावा शिक्षामन्त्री गिरिराजमणि पोखरेल समेत बसेर कारबाहीको तयारीबारे छलफल गरेका हुन् ।
बढी शुल्क लिएमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको छ । पटक पटक आग्रह गर्दा पनि शुल्क फिर्ता गरेको नपाइएपछि गृहले कडा कदम चालेको हो । यसपटक गृहमन्त्री बादलले आइजीपीलाई डाकेर कारबाहीको निर्देशन दिएबाट मेडिकल क्षेत्रमा कतिपय संचालकहरु पक्राउ पर्ने देखिएको छ ।

प्रहरीले ठगीको अभियोगमा मेडिकल संचालकहरुलाई पक्राउ गर्न सक्छ । सरकारले ठगीको अभियोगमा पक्राउ गर्ने तयारी गरिसकेको छ । मेडिकल कलेजहरु रहेका जिल्लाबाट संचालकहरुलाई पक्राउ गर्ने तयारी गरिसकिएको छ । गृहमन्त्री बादलको निर्देशनमा आइजीपी खनालले मातहतका जिल्ला प्रहरी प्रमुखहरुलाई पक्राउका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिइसकेका छन् ।

ठगीको अभियोगमा पक्राउ गरी मुद्दा दायर गर्ने तयारी समेत भइसकेको छ । यसका लागि महान्यायाधिवक्ता अग्नि खरेलसँग परामर्श गरिसकिएको छ । गृहमन्त्री बादलले खरेलसँग पनि परामर्श गरेका छन् ।

यसैगरी, मेडिकल कलेज संचालकहरुले बढी शुल्क फिर्ता गर्ने भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटेर समय मागेका छन् । उनीहरुले मोडालिटीका लागि थप एक दिन मागेका हुन् । थप एक दिन उपलब्ध गराइएको जनाइएपनि बुधबारबाट प्रहरीले पक्राउको तयारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्