काठमाडौं, ९ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट औपचारिक निम्तो मस्को पुगेको छ । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रुसका विदेशमन्त्री सेरगेई लाभरोभलाई सोमबार मस्कोमा भेटी उक्त निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीले रुसी राष्ट्रपति पुटिनलाई पठाएको नेपाल भ्रमणको निम्तोपत्र परराष्ट्रमन्त्री ज्ञवालीले रुसी विदेशमन्त्री लाभरोभलाई हस्तान्तरण गरेको उल्लेख गरेको छ । पुटिनले नेपला भ्रमण गर्ने चर्चा चलिरहँदा परराष्ट्रमन्त्री ज्ञवालीले निमन्त्रणा पत्र दिएका हुन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो उनका रुसी समकक्षी मेडभडेभ सम्म पुर्याउने गरी रुसी विदेशमन्त्री लाभरोभलाई हस्तान्तरण गरिएको छ ।
परराष्ट्रमन्त्रीस्तरको भेटमा आर्थिक सम्बन्ध विकास गर्नेबारे छलफल भएको जनाइएको छ । मन्त्री ज्ञवालीले नेपालमा रुसी लगानीका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका मन्त्रीहरुबीच क्षेत्रीय सहयोगबारे समेत छलफल भएको थियो ।
भेटमा परराष्ट्र सचिव शंकरदास बैरागी, रुसका लागि नेपाली राजदूत ऋषि राम घिमिरे, सहसचिव निर्मल राज काफ्लेसहित उच्च अधिकारीहरु सहभागी थिए । रुसका तर्फबाट विदेशमन्त्री सेरगई लाभरोभका अलावा उपविदेशमन्त्री इगोर मोरगुलोभ, निर्देशक जमिर काबुलोभ, सहनिर्देशक अलेक्सी डेडोभसहित वरिष्ठ अधिकारी सहभागी थिए ।
Photo Source: Twitter page of Pradeep Gyawali