Logo

बढ्यो लगानी आकर्षण



काठमाडौँ, १० मंसिर । लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ लगानीका १३ हजार ११६ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । गत वर्षको सोही अवधिमा एक खर्ब नौ अर्ब ४३ करोड रुपियाँ लगानी थपिएको थियो । यसअनुसार चार महिनामा गत वर्षभन्दा ३० अर्ब रुपियाँ बढी लगानी भएको हो ।

गत चौमासिकमा औद्योगिक क्षेत्रमा विदेशी लगानी पनि उच्चदरले बढेको देखिएको छ । गत वर्ष पहिलो चौमासिकमा विभागले आठ अर्ब ४८ करोड रुपियाँको लगानी स्वीकृति दिइएकामा यो वर्ष करिब दोब्बर हुँदै १५ अर्ब ७७ करोड पुगेको देखिएको छ । लगानी बोर्डले गत आर्थिक वर्षको पहिलो चार महिनामा ३८ अर्ब ६४ करोडको स्वीकृति दिएको थियो तर अहिले यो परिमाण बढेर ६६ अर्ब ८० करोड पुगेको हो । यो अवधिमा १०४ उद्योगमा वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो ।
विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार उद्योग दर्ता तथा लगानीमा उल्लेख्य प्रगति देखिनुमा राजनीतिक स्थिरता र त्यसले लगानीकर्तामा बढाएको मनोबल पहिलो कारण हो । “राजनीतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैत्री ऐन, नियम र ऊर्जाको पर्याप्तताले गर्दा समग्र उद्योग क्षेत्रमा प्रगति देखिएको हो,” उनले भने, “औद्योगिक पूर्वाधारमा सरकारले लगानी बढाउनु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालबाट सुविधा तथा छुट प्राप्त हुनु पनि औद्योगिक लगानीका लागि सबल पक्षका रूपमा स्थापित भएका छन् ।”यो वर्ष थपिएका उद्योगमा ठूला उद्योग २८, मझौला उद्योग ४९ र लघु घरेलु तथा साना उद्योगको सङ्ख्या १३ हजार ३८ छन् । लगानी बोर्ड मातहत एउटा उद्योग दर्ता भएको छ ।

उद्योग विभागले विदेशी लगानी स्वीकृति दिएका १०३ उद्योगमध्ये साना उद्योगतर्पm ५७ उद्योगमा पाँच अर्ब ७८ करोड, मझौलातर्पm ४४ उद्योगका लागि नौ अर्ब २४ करोड र ठूला दुई उद्योगमा ७५ करोड रुपियाँबराबरको विदेशी लगानीको स्वीकृति दिएको छ । उत्पादन, सेवामूलक र पर्यटन नेपालमा लगानी आकर्र्षित गर्ने क्षेत्र हुन् । गत असार मसान्तसम्म उद्योग विभागमा उत्पादनमूलक तीन हजार ७०, सेवामूलक दुई हजार १८७, पर्यटनमा एक हजार ७३२, कृषि तथा वन पैदावारमा ४६९, ऊर्जामूलकमा ३७६ उद्योग दर्ता भएको तथ्याङ्क छ । यीमध्ये विदेशी लगानीसमेत भएका सेवामूलक एक हजार ६१०, पर्यटनका एक हजार ५०३ र उत्पादनमूलक एक हजार १६७ उद्योग रहेका छन् ।

उद्योग क्षेत्रको यो प्रगति हँुदाहँुदै पनि विभिन्न सुधार अझै बाँकी रहेको र ती पूरा गर्ने तर्फ विभाग केन्द्रित रहेको महानिर्देशक सिटौलाले बताए। “लगानीमैत्री ऐन, नियम एवं नीतिगत सुधारको प्रभावकारी कार्यान्वयन, एकलबिन्दु सेवा केन्द्रको  प्रभावकारिता विस्तारमा हामीले ध्यान दिनुपर्नेछ,” उनले भने, “अटोमेसन तथा डिजिटलाइजेसन, प्रक्रियागत सरलीकरण र उत्पादन, उत्पादकत्व व्यापारबीच परिणाममुखी अन्तरसम्बन्धको विकास, सार्वजनिक निजी साझेदारी र विश्वासको वातावरण अभिवृद्धिलाई पनि हामीले सुधारका एजेँडा बनाएका छौँ ।”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्