Logo

काठमाडौंबाट देखिन्छन् हिउँचितुवा



काठमाडौँ, १० मंसिर । माथिल्लो डोल्पाको दुर्गम हिमाली क्षेत्र भिजेर । सदरमुकाम दुनैबाट पुग्न ४ दिनको बाटो । करिब ५ हजार मिटर उचाइ । त्यही सुन्दर हिमाली क्षेत्रमा रमाइरहेका दुई हिउँ चितुवालाई अब काठमाडौंको बबरमहलबाटै देख्न सकिन्छ । ती चितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान सफल भएपछि यस्तो सुविधा मिलेको हो । स्याटेलाइटले जीपीएसमार्फत ‘रियल टाइमबेस्ड इन्फर्मेसन’ कम्प्युटरमा पठाउँछ ।

प्राविधिकले यसै साता प्राकृतिक बासस्थानमै हिउँ चितुवाको घाँटीमा रेडियो कलर जडान गरेका हुन् । यसले २ वर्षसम्म नियमित सूचना दिनेछ । ‘हिउँ चितुवाले हिँडडुल गर्ने क्षेत्र, हिँडेको क्षेत्रफल, त्यहाँको तापक्रम, आहार प्रजाति र तिनको बासस्थानको अवस्था बबरमहलस्थित कार्यालयको डेस्कटपबाटै अनुगमन गर्न सकिन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद श्रेष्ठले भने । स्याटेलाइटबाट सीधै जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधि कम्प्युटरमा सूचना ९एसएमएस० मार्फत प्राप्त हुने वन्यजन्तु प्राविधिकहरू बताउँछन् । त्यस्ता सूचना हरेक चार घण्टामा आउँछन् ।

सुदूरपूर्व ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा यसअघि नै हिउँ चितुवाको घाँटीमा रेडियो कलर जोडिएको थियो । पश्चिम क्षेत्रका हिउँ चितुवामा रेडियो कलर जोडिएको भने यो पहिलो पटक हो । ‘दुई हिउँ चितुवामा रेडियो कलर जोड्न हाम्रो टोली सफल भएको छ,’ विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले भने, ‘यसले हिउँ चितुवाको आहार प्रजाति, ऊ बस्ने क्षेत्र र उसले गर्ने ओहोरदोहोरको जानकारी लिन सकिन्छ । यसले वन्यजन्तु संरक्षणमा थपसघाउनेछ ।’ विभागले डब्लूडब्लूएफ नेपाल र एनटीएनसीको आर्थिक–प्राविधिक सहयोगमा रेडियो कलर जडान गरेको हो । लज्जालु स्वभावको हिउँ चितुवा नेपाल, किर्गिस्तान, भुटान, भारत, मंगोलियासहित १२ देशमा पाइन्छ । अर्को वर्ष पनि थप हिउँचितुवामा रेडियो कलर जडान गरिने सूचना अधिकारी श्रेष्ठले बताए ।

यसअघि विभागकै नेतृत्वमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका चारवटा हिउँचितुवाको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको थियो । त्यसले नेपालका हिउँचितुवाको विचरण चीनको तिब्बत र भुटानसम्मै हुने गरेको देखाएको थियो । एक महिनाअघि हिउँचितुवा पाइने देशका मन्त्रीहरूको चौथो बैठक भारतको दिल्लीमा भएको थियो । उक्त बैठकले हिमालकी रानी मानिने हिउँ चितुवा संरक्षणलाई प्रभावकारी बनाउन र देखा परेका चुनौतीसँग जुध्न सँगै अघि बढ्ने संकल्प गरेको छ ।

नेपालमा करिब ३ देखि ५ सयको हाराहारीमा हिउँ चितुवा रहेको अनुमान छ । कञ्चनजंघा, मकालु बरुण, सगरमाथा, गौरीशंकर, लाङटाङ, अन्नपूर्ण, शे–फोक्सुन्डो, रारा र अपि नाम्पासहित १२ वटा संरक्षण क्षेत्रमा हिउँचितुवा पाइन्छन् । १२ देशमा हिउँचितुवाका २३ भू–दृश्य क्षेत्र पहिचान गरिएकामा तीनवटा नेपालमा पर्छन् । कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुन्डो, रारा र खप्तड निकुञ्जसहित अपि नाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँचितुवा संरक्षणमा काम भइरहेको छ । विश्वभर करिब ३ देखि ६ हजार संख्यामा हिउँचितुवा छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्