काठमाडौं, १० मंसिर । सत्तापक्षबाट नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने खुलासा गरेका थिए । धेरैले यसलाई पत्याएका थिएनन् । तर, सरकारले भित्र भित्र पुटिनको नेपाल भ्रमणको पहल गरिरहेको थियो ।
सरकारी पहलको खुलासा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको रुस भ्रमणका क्रममा ९ मंसिरमा खुलासा भयो । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको पुटिनलाई पठाइएको निम्तो रुसका विदेशमन्त्री सेरगेई लाभरोमलाई हस्तान्तरण गरे । पुटिनको भ्रमणको तयारीकै लागि ज्ञवाली रुस पुगेको खुल्यो ।
यसअघि सरकारका प्रवक्ता सञ्चामन्त्री गोकुल बास्कोटाले रुसी राष्ट्रपति पुटिन नेपाल आउनसक्ने बताएका थिए । उनको भनाईले पुटिनको भ्रमण गराउने सरकारी तयारीको अनुमान गरिएको थियो ।
रिपोर्टर्स नेपालले पुटिन नेपाल भ्रमणमा आउनसक्ने र सरकारले भ्रमणको पहल गरिरहेको खुलाएको थियो । परराष्ट्रमन्त्री ज्ञवाली भ्रमणको निम्तो बोकेर रुस जाँदैछन् भनेर पनि खुलासा गरेको थियो ।
रुससँग नेपालको ऐतिहासिक सम्बन्ध छ । तर, शितयुद्धपछि रुसको नेपालमा चासो घट्यो । कम्युनिष्ट सरकारको पालामा रुससँग निकटता बढाउने पहलहरु भए । रुसको लगानी बढाउने पहलहरु भइरहेका छन् । रुसका राष्ट्रपति पुटिनको भ्रमणमा रुस र नेपाल दुवैतर्फका लगानीकर्ताहरुले पनि पहल गरिरहेको बुझिएको छ ।