Logo

‘राष्ट्रवादी’ बन्न खोज्दा चुके देउवा



काठमाडौं, १० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘राष्ट्रवादी’ बन्ने चाहना बढेको छ । उनले कालापानीका विषयमा सबैभन्दा कडा अभिव्यक्ति दिइरहेका छन् ।

देउवाले कालापानीको नेपाली भू भाग भारतको नक्शामा पर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारण देखाए । ओलीको अनुमतीले भारतले कालापानीलाई आफ्नो नक्शामा राखेको अभिव्यक्ति दिए । यसले उनलाई विवादमा पार्यो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले देउवालाई आरोप पुष्टि गर्न चुनौती दियो । यो बोलीले उनी निकै आलोचित भए । देउवाको बोली बन्द भयो ।

कालापानीको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीसँग टेलिफोन कुराकानी गरेको विषयलाई देउवाले पार्टीको लेटरप्याड राखेर प्रवक्तामार्फत् विज्ञप्तिमा उल्लेख गर्न लगाए । प्रधानमन्त्री भइसकेका नेताले भारतीय राजदूतसँग गरेको टेलिफोन कुराकानी गरेको विषय औपचारिक लेटरप्याडमा राखेर उल्लेख गर्नुलाई देउवाको अपरिपक्वता भनियो । सत्तापक्षबाट आलोचना भयो । भारतीय पक्ष पनि असन्तुष्ट भयो ।

सुदूरपश्चिम गृहजिल्ला भएका देउवाले कालापानीबारे अभिव्यक्ति दिंदा संयमता नअपनाएको विषय चर्चामा छ । उनले नेपाल विद्यार्थी संघका नेतालाई बोलाएर कालापानीविरुद्ध प्रदर्शन गर्न निर्देशन दिए । तर, नेविसंघको झण्डा बोकेर भारतसँग विवाद रहेको अर्को देशको समर्थनमा नारावाजी भयो । यी घटनाहरुका कारण कालापानीका सवालमा देउवा राष्ट्रवादी देखिन खोज्दा उल्टै चुके । उनको अभिव्यक्ति र कदम दुवै विवादमा पर्यो । File Photo



प्रतिक्रिया दिनुहोस्