Logo

राजपा सरकारमा आउँछ भने म छोड्न तयार छु : उपेन्द्र यादव



काठमाडौं, १० मंसिर । उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजपा नेपाल सरकारमा आए आफू छोड्न तयार रहेको स्पष्ट पारेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यदि राजपा आउँछ भने म तत्काल छोड्न तयार छु ।’

त्यस्तै, यादवले प्रदेश नम्बर २ मा रहेको राजपा र समाजवादी पार्टीको गठबन्धनमा रहेको सरकारलाई निरन्रता दिने स्पष्ट पारे । उनले भने,‘यो गठबन्धन कायम राख्नुपर्छ ।’ उनले मन्त्रिमण्डल पूनर्गठन सामान्य प्रक्रिया भएको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीले मलाई कानून मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । सायद संविधान संशोधन गराउनकोलागि होला । उहाँले मलाई संविधान संशोधन गराउने जिम्मेवारी दिनुभएको होला भन्ने मैले बुझेको छु । संसदको आउने अधिवेशनमा संशोधन प्रस्ताव दर्ता हुन्छ ।’ उनले संविधान संशोधनको लागि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले सकारात्मक प्रतिबद्धता जनाएको बताए ।

त्यस्तै, उनले भारतसँगको सीमा विवाद नेपाल सरकारले कुटनीतिक तहमा छलफल गरेर समाधान गर्ने विश्वास दिलाए । उनले भने,‘हामी भारतसँग कुटनीतिक रुपमा छलफल गर्छौं । सीमानामा खुकुरी नचाएर वा प्रदर्शन गरेर केही पनि हुँदैन् ।’

फरक प्रसँगमा उनले राजपा नेपालसँग आफ्नो पार्टीको एकता हुने सम्भावना बढेर गएको सुनाए । यादवले भने,‘पार्टी एकता हाम्रो नीति तथा कार्यक्रम नै हो । हामी अघि बढिरहेका छौं ।’ त्यस्तै, उनले मुलुकको विकास र समृद्धिको लागि आगामी निर्वाचनपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्ने बताए । file photo/RSS



प्रतिक्रिया दिनुहोस्