काठमाडौं, १० मंसिर । सरकार र निजी मेडिकल कलेज सञ्चालकहरुबीच वार्ता भएको छ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौँ मेडिकल कलेज काठमाडौँ, कलेज अफ मेडिकल साइन्स चितवन, नेपाल मेडिकल कलेज काठमाडौँ, नेपालगञ्ज मेडिकल कलेज बाँके र विराट मेडिकल कलेज विराटनगरका सञ्चालकले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेट गरी बढी शुल्क फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने बताएका छन् ।
सञ्चालकहरुले सरकारले तोकेको शीर्षकको शुल्कभन्दा थप रकम नलिएको र बढी शुल्क लिएको भए सरकारको निर्देशनलाई मान्दै अब लिने बाँकी शुल्कमा समायोजन गर्ने बताएका हुन् । उनीहरुले चिकित्सा शिक्षाभित्रको विकृति–विसङ्गति हटाई सबै मेडिकल कलेजलाई एउटै ठाउँमा हाली निराधार आरोप नलगाउनसमेत आग्रह गरेका छन् ।
वार्तामा सहभागी चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानले पत्रकार ऋषि धमलालाई सरकारको निर्णय मान्न आफूहरु तयार रहेको बताए । उनले भने,‘सरकारको निर्णय मान्न हामी तयार छौं । बढी शुल्क फिर्ता गर्छौं ।’
ज्ञापनपत्रमा आगामी दिनमा शिक्षा मन्त्रालयको नीति नियम निर्देशन पालना गर्नसमेत आफूहरु कटिबद्ध रहेको भन्दै नेपाली विद्यार्थी नेपालमै पढ्न पाउने वातावरण बनाउनसमेत माग गरेका छन् । सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आजसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो ।