काठमाडौँ, ११ मंसिर । कैलाली र कञ्चनपुरका सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर लगाएको काँडेतार अहिलेसम्म हटाउन पहल भएको छैन। गत माघ महिनामा भारतीय पक्षले कैलालीमा करिब तीन किलोमिटर र कञ्चनपुरको डोकेबजारमा तीन किलोमिटर क्षेत्रमा माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडेतार लगाएको थियो।
नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडेतार लगाउँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ढिस्कोका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए। स्थानीय बासिन्दा, नेपाली सञ्चारमाध्यम, स्थानीय प्रहरी प्रशासन, वन कार्यालय तथा वन्यजन्तुका क्षेत्रमा काम गरिरहेकाहरूले विरोध गरे पनि भारतीय पक्षले अटेर गर्दै तारबार लगाएको हो। केही महिनाअघि सीमासम्बन्धी संयुक्त सर्भे टोलीको नेपालमा सम्पन्न बैठकमा सहभागी हुन आएका भारतको लखिमपुर जिल्लाका डिएम शैलेन्द्र सिंहले सीमामा जैविक मार्ग अवरुद्ध हुनेगरी तारबार लगाएको बारेमा आफूलाई जानकारी नभएको नागरिकसँग बताएका थिए। दुवै देशबीच छलफल गरेर तारबारको समस्या समाधान गरिने उनको भनाइ थियो। तर अहिलेसम्म तारबार हटाउने बारेमा दुई देशबीच प्रभावकारी छलफल भएको छैन।
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन जोशीले सीमाको तारबारसम्बन्धी समस्या समाधानका बारेमा दुवै देशबीच कुनै छलफल नभएको बताए। नेपाल पक्षलाई असर पर्ने गरी भारतीय पक्षले बनाएको ट्रेन्च र तारबार हटाउन स्थानीय प्रशासनका तर्फबाट भारतीय पक्षलाई आग्रह गरिएको भए पनि अहिलेसम्म तारबार हटाउन भारतीय पक्षले चासो नदिएको बताए। सीमामै काँडेतारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडी आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीले विरोध जनाएका छन्। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एकमात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्व वन अधिकृत रमेश चन्दले बताए। ‘कञ्चनपुरको डोकेबजारमा भारतीयले लगाएको काँडेतार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत हो,’ उनले भने, ‘यसलाई तुरुन्तै नेपालको कुटनीतिक नियोगबाट पहल गरेर हटाउनुपर्छ।’
चन्दका अनुसार जैविक मार्गमा काँडेतार लगाइँदा भारत–नेपाल ओहर–दोहोर गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने खतरा बढी हुनेगर्छ। ‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनल पार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्ने र अनपेक्षित रूपमा मानवीय क्षति हुने निश्चित छ,’ उनले भने, ‘त्यो ठाउँमा कुनै पनि हालतमा तारबार गर्नै पाइँदैन।’ अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिँदा वन मन्त्रालयबाटै खुलाउन पहल गर्नुपर्ने उनको भनाइ छ। भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको मोहना–लालझाडी मोहना जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको तारबार अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। ‘लालझाडी–दुधुवा जैविक मार्ग भएर आवतजावत गर्ने वन्यजन्तुको आवागमनलाई भारतले लगाएको काँडेतारले पूर्ण रूपमा रोक लगाएको छ,’ ऐरले भने, ‘सीमाक्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले लगाएको तारबारले जंगली जनावरको बाटो नै अवरुद्ध भएको छ।’ कैलालीको सीमा गौरीफन्टा नाका र कैलारी गाउँपालिकाको सीमाक्षेत्रमा भारतले ट्रेन्च खनेर त्यसमाथि काँडेतार लगाई वन्यजन्तुको ओहोरदोहोर गर्ने बाटो अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै उनले भने ‘जैविक मार्गबाट वन्यजन्तु आउजाउमा नेपाल र भारत पक्षले कुनै अवरोध गर्न पाइँदैन।’
माघ पहिलो साता भारतले सीमाक्षेत्रमै डोजर चलाएर गहिरो ट्रेन्च खन्न थालेपछि नेपालतर्फका स्थानीयले विरोध गरेका थिए। विरोधपश्चात् सीमाक्षेत्रमा निर्माण गर्न थालिएको ट्रेन्च र तारबार गर्ने कार्य केही दिनलाई स्थगित गरिए पनि पुनः ट्रेन्च खनेर तारबार गरिएको थियो। तारबार गरिएको लामो समय बितिस्क्दा पनि नेपाल सरकारले कुटनीतिक पहल नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। तराई भूपरिधि कार्यक्रमले लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोरदोहोरमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, बाघ, चितुवा, मृग, चित्तल ओहोरदोहोर गर्छन् । सीमामा काँडेतारबार गरिएपछि वन्यजन्तुलाई सीमा वारपार गर्न समस्या भएको संरक्षणकर्मी बताउँछन्।
नागरिक दैनिकबाट