Logo

सेयरको मूल्यांकनमा सिन्डिकेट, सीडिएस एण्ड क्लियरिङ्गको एकलौटी लुट



काठमाडौं, १२ मंसिर । सेयरको मूल्यांकन अनिवार्य छ । यसको लगत पनि राख्नुपर्छ । तर, त्यसका लागि एउटा कम्पनिले सिन्डिकेट बनाएर करोडौं असुली गरिरहेको छ । त्यो कम्पनि हो सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड । क्लियरिङ्ग हाउसका नामले परिचित कम्पनिमा धीतोपत्र बोर्डका अधिकारीहरुको समेत मिलेमतोमा असुली भइरहेको तथ्य खुलेको हो ।

पुतलीसडकमा रहेको यो कम्पनि शेयर मूल्यांकनवापत् भन्दै पाँच सय रुपैयाँ असुल्ने गरेको छ । सेयर धितो राखेर बैंकबाट ऋण लिनु पर्दा, विदेश जाँदा वा अन्यत्र जाँदा सेयरलाई सम्पत्तिको रुपमा प्रस्तुत गनुपरेमा मूल्यांकनका लागि सीडीएस एन्ड क्लियरिङ्ग कम्पनिमै जानुपर्ने वाध्यात्मक अवस्था बनाइएको छ । सेयरको मूल्यांकन गर्दा न्यूनतम पाँच सय रुपैयाँ अनिवार्य बुझाउनुपर्छ ।

दश लाख रुपैयाँ बराबरको शेयरसम्म पाँच सय, १० देखि ५० लाख सम्मको एक हजार, ५० लाख देखि एक करोडसम्मको १५ सय, एक करोडभन्दा माथि भएमा दुई हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । निजी कम्पनिलाई सिन्डिकेट शैलीमा शेयरको मूल्यांकनको एकाधिकार दिन ठूलै आर्थिक चलखेल भएको देखिन्छ । यसवापत् कम्पनिले मात्र नभई सिन्डिकेट बनाउने सहयोग गर्नेहरुले पनि लाभ लिइरहेका छन् ।

विगतमा नेपाल स्टक एक्स्चेन्जले गर्ने गरको कार्य कमिशनको खेलमा निजी कम्पनिलाई दिइएको तथ्य भेटिएको छ । सेयर मूल्यांकनमा समेत पैसा लाग्ने गराउन सरकारी निकायकै व्यक्तिहरु लागेको बुझिएको छ । उक्त कम्पनिमा तिनकै मानिसहरु हालीमुहाली भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्