Logo

सहज भएन श्रम स्वीकृति



काठमाडौँ, १३ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन । अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुनुहुन्छ, उपत्यकाबाहिरका मिलन नेपाली ।

श्रम स्वीकृतिका लागि गएको बिहीबारदेखि निरन्तर धाउँदा बल्ल बिहीबार आठ दिनमा श्रम स्वीकृति लिएको उनले बताए । मिलन पहिलो पटक यस्तो स्वीकृति लिएर माल्टा जाँदै हुनुहुन्छ । समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा श्रम स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआएकोप्रति उनले आक्रोश पनि पोखे। “श्रम स्वीकृतिका लागि के के कागजात चाहिन्छ भन्ने थाहा नहुँदा आठ दिन लाग्यो तर बल्ल बल्ल स्वीकृतिचाहिँ पाएँ”, बिहीबार बिहान ४ बजे अँध्यारोमै श्रम कार्यालय पुगेको मिलनले भने।

मिलन त एउटा प्रतिनिधि पात्र मात्रै हुन। श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेस्क वा बोर्ड भएको भए मिलनजस्तै वैदेशिक रोजगारीमा जानेलाई यस्तो सस्ती भोग्नुपर्ने थिएन कि । नयाँलाई मात्रै होइन, पुराना वा पुनः श्रम स्वीकृति लिनेका लागि पनि यस्तै सास्ती छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था उत्पन्न भएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई०मा तीन वर्ष र कतारमा पाँच वर्ष काम गरेको अनुभव लिनुभएका धनुषाका विजय यादवले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिल्यै नभोगेको गुनासो गरे। “यसअघि त तीन÷चार हजार रुपियाँ बाहिरै फर्म भरिदिनेलाई दिएपछि सबै काम एक दिनमा गरिदिन्थे । अहिले त आफैँ आउनुपर्ने”, उनले भने, “पुरानो करार सम्झौतापत्र पनि चाहिने रे, त्यो कागजात साथमा छैन । कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको ईमेलमा पठाउनुपर्दो रहेछ । कम्पनीसँग मागेको छु, त्यही कुरेर बसेको दुई दिन भइसकेको छ, पाएको छैन । ”

यस्तै नौ वर्ष साउदी अरेबिया बसेर तीन पटक नेपाल आइसक्नुभएका चितवनका विनोद अधिकारीले आक्रोशित हुँदै भने, “नयाँ नियम हामीलाई थाहै थिएन । तीन, चार घण्टा लाइन लागेर डकुमेन्ट बुझायो, पुरानो सम्झौतापत्र खोइ भनेर सोध्छन्, पुरानो सम्झौतापत्र चाहिन्छ भन्ने के थाहा रु अहिलेसम्म माग्ने गरेको थिएन । कम्पनीमा फोन गरेर मगाएको छु, त्यसैको पर्खाइमा छु । शुक्रबार २ बजे फ्लाइट छ, तनाव भइसक्यो । ” श्रम स्वीकृतिका लागि यो यो कागजात चाहिन्छ भनेर जानकारी दिने सूचना ‘डेस्क’ भएको भए सायद मिलन, विजय र विनोदले जस्तो सास्ती भोग्नुपर्ने थिएन । श्रम स्वीकृति लिन आउनेका लागि यो यो कागजात चाहिन्छ भन्ने सबै सूचना दिने डेस्क भएको भए सेवाग्राही लाइन त बस्नुपर्ने थिएन । उक्त कार्यालयका प्रमुख देवेन्द्र कार्कीले सूचना डेस्क भए पनि सेवाग्राहीले त्यसप्रति ध्यान नदिँदा समस्या भएको बताए। उनले भने, “कुन देशलाई के के कागजात चाहिन्छ भन्ने मलाई पनि सबै थाहा छैन । भर्खर देशअनुसार के के चाहिँदो रहेछ, सङ्कलन गरेर एकीकृत गर्दै छु । देशैपिच्छे फरक फरक हुन्छ, सबैलाई सहज हुने गरी लिखित रूपमै तयार गर्दैछु । ”

उनले पछिल्लो पटक भएको वैदेशिक रोजगार नियमावली संशोधनले पुनः श्रम स्वीकृति लिएर विदेश जानेलाई व्यावहारिक कठिनाइ आएको स्वीकार गरे। गएको भदौदेखि कार्यान्वयनमा आएको संशोधित नियमावलीले पुनः श्रम स्वीकृति लिनेलाई पुरानो सम्झौतापत्र पनि पेस गर्नुपर्ने अनिवार्य व्यवस्थाले गर्दा एक दिनमा हुने कामका लागि तीन÷चार दिन धाउनुपर्ने बाध्यता भएको उनले उल्लेख गरे। “पुनः श्रम स्वीकृतिका लागि आउनेले नयाँ सम्झौतापत्र मात्रै लिएर आएका हुन्छन्, पुरानो कसैसँग हुँदैन । त्यो रोजगारदाताले काम गरेको भन्ने पत्र वैदेशिक रोजगार विभागको ईमेलमार्फत आउनुुपर्छ । त्यो पत्र माग्नेबित्तिकै आउँदैन, त्यसैले गर्दा एक दिनको काममा सेवाग्राही पटक पटक धाउनुपर्ने हुन्छ”, उनले भने।

प्रमुख कार्कीले नियमावलीका कारण काममा भएको व्यावहारिक कठिनाइको गाँठो फुकाउन तीनमहले सुझाव बनाएर वैदेशिक रोजगार विभागमार्फत मन्त्रालयमा पठाइसकेको तर त्यहाँबाट अहिलेसम्म केही जानकारी नआएको पनि बताए। उनले भने, “पूर्वश्रममन्त्री गोकर्ण विष्टसमक्ष यस विषयमा कुराकानी भएर तत्काल सच्याउने कुरा हुँदाहुँदै उहाँ पदबाटै बिदा हुनुभयो । नयाँ मन्त्रीले बुझ्दै हुनुहुन्छ होला । ” वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई व्यवस्थित, मर्यादित बनाउने भन्दै यही मङ्सिर १५ बाट ई–टोकन लागू गर्दैछ । यो प्रणाली लागू भएपछि अहिले सेवाग्राहीले भोग्दै आएको समस्या केही मत्थर होला ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्