काठमाडौं, मंसिर १४ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् ।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन। मतदानपूबर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए।
त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि निर्धा्रित समयमा जिल्लाका १७ वटै मतदानस्थलका ३१ वटै मतदान केन्द्रबाट मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी गराए ।
मतदानका लागि सबै मतदान केन्द्रमा मतदाता लाममा लागिसकेका छन् । निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा कुनै प्रकारको समस्या र अवरोध नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । निर्वाचनको सुरक्षार्थ करीब एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । पाँचथरमा उपनिर्वाचन हुने तीन स्थानमा १५ हजार ८०० मतदाता रहेका छन् ।