Logo

प्रदेश मातहतका विकास खर्च निराशाजनक



बैतडी, १४ मङ्सिर : जिल्लामा प्रथम चौमासिकमा प्रदेश सरकारका मातहत कार्यालयको विकास खर्चको स्थिति निराशाजनक रहेको छ । प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयले कूल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कूल पूँजीगत बजेट रु एक अर्ब ४० करोड ६६ लाख ६५ हजारमध्ये प्रथम चौमासिकमा रु छ करोड ५६ लाख ९८ हजार ९६८ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सिद्धराज ओझाले जानकारी दिए। डिभिजन वन कार्यालयले रु ६४ लाख ५० हजारमध्ये रु एक लाख ३९ हजार मात्रै खर्च गर्न सकेको छ भने घरेलु तथा साना उद्योग कार्यालयले रु १४ लाख ६५ हजारमध्ये रु तीन लाख २६ हजार मात्रै खर्च गर्न सकेको छ ।

यसैगरी सुख्खा फलफूल विकास केन्द्रको रु एक करोड ३८ लाख ५० हजार पूँजीगत बजेटमध्ये रु सात लाख ७० हजार खर्च भएको छ । यसैगरी सिँचाइ विकास डिभिजन कार्यालयको रु १५ करोड ४० लाखमध्ये रु एक लाख ६१ हजार मात्रै खर्च भएको छ । यसैगरी पूर्वाधार विकास कार्यालयको रु ७७ करोड ८० लाखमध्ये चार करोड ३६ लाख मात्रै खर्च भएको छ ।

कृषि ज्ञान केन्द्रको रु ७४ लाख ५० हजारमध्ये रु एक लाख ९० हजार खर्च भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको रु ७७ लाख ९५ हजारमध्ये रु १० लाख ४३ हजार मात्रै खर्च भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयको रु १६ करोड १५ लाखमध्ये ५० लाख ३१ हजार मात्रै खर्च भएको छ । यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु २६ करोड ९४ लाखमध्ये एक करोड ४२ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयको रु १६ लाख ४३ हजारमध्ये कति पनि खर्च भएको छैन भने जिल्ला आयुर्वेदको पनि रु १० लाख बजेटमध्ये प्रथम चौमासिकमा कति पनि खर्च भएको छैन् । जिल्ला अस्पतालको रु ४० लाख ६० हजार बजेटमध्ये रु एक लाख ५८ हजार मात्रै खर्च भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्