Logo

साइकलमैत्री बन्दै ललितपुर



काठमाडौँ, १५ मंसिर । झन्डै तीन दशकअघि काठमाडौँको सडकमा सवारीको चाप आजको जस्तो थिएन । त्यसमाथि मोटरसाइकल र कारमा मानिसको पहुँच कम थियो । त्यस बेला साइकलको पनि बेग्लै शान थियो । त्यति बेला नै चिरिबाबु महर्जन अर्थात् अहिलेका ललितपुर महानगरपालिकाका प्रमुखले जमलमा एउटा साइकल किनेको थियो । त्यही साइकल उहाँलाई अझै पनि काम आइरहेको छ ।

ललितपुर महानगरपालिकाको साइकल लेन उद्घाटनमा शनिबार उनी त्यही साइकल चढेर आएको थियो । “तेत्तीस वर्षअघि मैले किनेर केही समय चलाएँ । त्यसपछि छोराले धेरै वर्ष चलाए”, महानगर कार्यालयको प्राङ्गणमा आफ्नो बूढो साइकल अड्याउँदै उनले आफ्नो साइकल कहानी सुनाए। “जावलाखेलको भोटोजात्रा हेर्न आउनेका लागि हामीले शुल्क लगाएर बनाएको साइकल स्ट्यान्डमा ३५० वटा साइकल राखिएका थिए”, त्यो समय स्मरण गर्दै उनले भने, “त्यही समयलाई अहिले ‘रिभाइभ’ गर्न चाहन्छु । ” प्रमुख महर्जनको चाहनाजस्तै साइकलको त्यो स्वर्ण समय पुनर्जीवित बनाउन सकिएला वा नसकिएला, त्यो फरक विषय हो । तर, ललितपुर महानगरपालिकाले बनाउन लागेको साइकल लेनले साइकल यात्रीलाई निकै उत्साहित बनाएको छ । साइकलमा यात्रा गर्न रुचाउने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. पवन शर्माले भने, “सडकमा सधैँ पीडित र अपमानित हुनु परेकाले नयाँ पुस्ता साइकलमा आकर्षित हुन सकेको छैन । भएकै सडकमा लेन बन्नु साइकलयात्रीलाई सुरक्षा र सम्मान दिने कामको सुरुआत हो । ” महानगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ देखि नै साइकल लेन निर्माणको प्रक्रिया अगाडि बढाएको हो । गत वर्षकै कार्यक्रमअन्तर्गत शनिवार वडा नं। १३ स्थित कुपण्डोल सडकमा प्रमुख महर्जनले साइकल लेनमा पेन्ट गरी साइकल लेन निर्माणको उद्घाटन गरे।

गत आर्थिक वर्षमा ५० लाख बजेट छुट्याई साइकल लेनको डिजाइन गर्न नेपाल साइकल सोसाइटीलाई जिम्मेवारी दिइएको थियो । नेपाल साइकल सोसाइटी नेपालमा सुरक्षित सहर र वातावरणका लागि साइकल प्रवद्र्धन गरिरहेको संस्था हो । सोसाइटीको प्राविधिक सहयोगमा कुपण्डोल–लगनखेल–मङ्गलबजार र पुलचोक–मङ्गलबजार साइकल लेन निर्माण गरिने प्रमुख महर्जनले बताए। ‘सेयरिङ लेन’ अर्थात् साझा लेनका रूपमा साइकल लेन निर्माण गरिने नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठले बताए। साइकल कुदेको बेला अन्य विद्युतीय सवारी साधन छेउको लेनमा गुड्ने छैन तर साइकल नचलेको अवस्थामा भने अन्य सवारी साधन पनि साइकल लेनमा गुड्नेछन् ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्