काठमाडौं, मंसिर १५ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालमा रंगीन र भव्य समारोहबीच १३औं सागको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रथम दक्षिण एसियाली गेम्स १९८४ मा पहिलोपटक काठमाडौंबाट सुरु भएको थियो । त्यसपछि नेपालले १९९९ मा आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना
गरेको थियो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सागको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘रातभरि काम गरेर भए पनि हामीले सागका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेका छौं,’ उनले भने ।
नेपालले तेस्रोपटक गर्न लागेको साग अघिल्लोभन्दा भव्य रूपमा सम्पन्न गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले बताए । ‘उद्घाटन समारोह रंगिन हुनेछ । यो १९९९ को भन्दा भव्य हुने छ,’ उनले भने, ‘१३औं सागको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल सहभागी देशहरूलाई स्वागत गर्न पाउँदा उत्साहित छ ।’
१३औं सागमा खेलाडी, प्रशिक्षक, म्यानेजर तथा खेलप्रेमी गरी ५ हजारको सहभागिता रहने आजको राजधानी दैनिकमा खवर छ ।