Logo

डायलसिसको पालो कुरेको कुर्‍यै



काठमाडौँ, १५ मंसिर । दोलखा, बोचका ६० वर्षीय काले दमाईको एक वर्षअघि दुवै मिर्गौला फेल भयो । उपचार गर्न घरबारी नै बेचेर उनी राजधानी आए । डायलसिस गर्न वीर, शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पटक–पटक धाए । ‘सबैमा खाली छैन, पालो कुर्नुपर्छ भनेर फर्काए,’ उनकी श्रीमती लक्ष्मीले भनिन्, ‘निजी अस्पतालमा डायलसिस गराउन पैसा छैन । औषधि खाएर पालो कुरिरहेका छौं ।’

जोरपाटीमा कोठा लिएर बसेका उनीहरूले भक्तपुरमा नाम लेखाएका छन् । ‘पालो कहिले आउने हो, पालो नआउँदै केही हुने हो कि भन्ने डर लाग्छ,’ लक्ष्मीले भनिन् । पालो आयोरआएन बुझ्न उनी भक्तपुर गइरहन्छिन् । अस्पतालले एक वर्षअघि पालो नआउने जानकारी दिएपछि उनी निराश छिन् । ‘आठ महिना कुरिसकें, अझै एक वर्ष कुर्नुपर्छ भनेपछि अत्यास लागेको छ,’ उनले भनिन् । उनी आफैंलाई पनि पाठेघरको क्यान्सर भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । आफ्नो पीडा खपेर उनी श्रीमान् बचाउन लागिपरेकी छन् । गत चैतमा दुवै मिर्गौला फेल भएका गोरखा, बारपाकका १७ वर्षीय तुलबहादुर बलामी पनि डायलसिस गर्ने पालो कुरिरहेका छन् । नियमित डायलसिस गर्न पालो नपाएपछि उनी आकस्मिक डायलसिस गर्न काठमाडौं आउँछन् र डायलसिस सकेर गोरखा फर्किन्छन् । ‘निजी अस्पतालमा डायलसिस गरेर सम्पत्ति सबै सकियो,’ तुलबहादुरका दाजु जितकाजीले भने, ‘जुन सरकारी अस्पताल गए पनि बेड छैन भन्छन्, के गर्नु रु’ तुलबहादुर पछिल्लो साता आकस्मिक डायलसिस गर्न वीर अस्पताल आएका थिए ।

वीरले आकस्मिक डायलसिस चारपटक मात्रै गर्ने गरेको छ । त्यसपछि बिरामीले अर्को अस्पताल चाहर्नुपर्छ । सरकारी अस्पतालमा आकस्मिक डायलसिको दुई हजार पाँच सय रुपैयाँ लिनेगरेको छ । निजीमा डायलसिस गर्दा १० हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । आकस्मिक डायलसिसको भने जति खर्च लागे पनि सरकारले बेहोर्ने व्यवस्था छैन । नियमित डायलसिस सेवा लिएपछि मात्रै सरकारले पनि उपचार खर्च बेहोर्ने व्यवस्था गरेको छ । यो सुविधा पाउन बिरामीले पीडा खपेर कम्तीमा एक वर्ष पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालमा दैनिक ८ जना नयाँ बिरामी डायलसिस गर्न आउँछन् । अस्पतालले तिनलाई आकस्मिक सेवा मात्रै दिने गरेको छ । वीरमा करिब दुई सय बिरामी एक वर्षदेखि डायलसिसको पर्खाइमा छन् । १४ वटा हेमोडायलसिस उपकरणबाट दैनिक ७० बिरामीले डायलसिस सेवा पाइरहेको वीरको हेमोडायलसिस वार्ड इन्चार्ज इश्वरी श्रेष्ठले बताइन् । ‘नयाँ बिरामीले पालो पाउन कि पुरानो बिरामीको मृत्यु हुनुपर्छ कि उसले मिर्गौला प्रत्यारोपण गरेर बेड छोड्नुपर्छ, नत्र सम्भव छैन ।’

बिरामीको चापअनुसार शय्या नथपेसम्म नयाँ बिरामीलाई पालो दिन नसकिने उनले बताइन् । श्रेष्ठका अनुसार वीरमा तीन वर्षदेखि पालो पर्खिने बिरामी पनि छन् । श्रेष्ठका अनुसार कतिपय बिरामी नाम टिपाएपछि सम्पर्कमै आउँदैनन् । तीन वर्ष कुर्नेमा त्यस्तै बिरामी धेरै छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्