काठमाडौँ, १५ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा ०७४ को तुलनामा कम मतदान भएको छ । प्रारम्भिक विवरणअनुसार करिब ६३।४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पोखरा महानगरपालिकाका ११ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन्। ४५ हजार ५ सय ६३ जनाले मतदान गरेका छन्। ०७४ मा ७० हजार ६ सय ५१ मतदाता हुँदा ४९ हजार ९ सय १३ ९७०।६ प्रतिशत० मत खसेको थियो। यो शनिबारको उपनिर्वाचनको भन्दा करिब ७।२ प्रतिशत बढी थियो। मतदाताहरू रोजगारी तथा अध्ययनका लागि बाहिर जानु, आफ्नो काम छाडेर मतदानमा नआउनु आदिले कम मत खसेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए। छिटपुट बम विस्फोटका घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको थियो। बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा अधिकांश केन्द्र सुनसान जस्तै थिए। दिउँसोमात्रै मतदाता आउन थाले। चारवटा मतदानस्थल नजिक बम विस्फोट भए पनि कुनै क्षति र अवरोध नभएको प्रहरीले जनाएको छ।
पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि केहीबेर विवाद भएर मतदान रोकिएको थियो। पछि सर्वदलीय बैठकले हस्ताक्षर नभएका मतपत्र भेटिए पनि सदर गर्ने सहमतिपछि मतदान सुचारु भएको थियो। उक्त केन्द्रबाट नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी थिइन्। पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि, पोखरा–९ नयाँबजारको नवप्रभात मावि, पोखरा–१६ को शान्ति मावि र दीप चण्डीका मतदानस्थल नजिकै बम विस्फोटका घटना भए। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामान्य विस्फोट भए पनि त्यसले चुनावमा बाधा नभएको बताए। १० पार्टी र ११ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा छन। उनीहरूमध्ये आठ जनाले मात्रै आफैंलाई मतदानको अवसर पाए। कांग्रेस उम्मेदवार खेमराज पौडेल ३ नम्बर क्षेत्रका स्थायी बासिन्दा भएकाले मतदान गर्न पाएनन्। समाजवादीका धर्मराज गुरुङले पोखरा–१६ र साझा पार्टीका उम्मेदवार रजनी केसीले पोखरा–४ को मतदान केन्द्रबाट मतदान गरे। मतगणना जिल्ला समन्वय समिति कास्कीको सभाहलमा हुनेछ। सबै केन्द्रबाट मतपेटिका ल्याइएको छ। सर्वदलीय बैठकको निर्णयपछि मात्रै मतगणना थालिने सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए। रवीन्द्र अधिकारीको गत फागुन १५ मा निधन भएपछि रिक्त क्षेत्रमा निर्वाचन भएको हो।
बागलुङ संवाददाताका अनुसार गण्डकी प्रदेशसभा सदस्यका लागि बागलुङ–२ ९ख० मा ६१ प्रतिशत मत खसेको छ। ३५ हजार १ सय ८४ मतदातामध्ये २१ हजार ४ सयले मताधिकार प्रयोग गरेको निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत मंसिर २८ मा कलेजो रोगको उपचारका क्रममा मृत्यु भएपछि उक्त क्षेत्र खाली थियो। वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही र कांग्रेसका जीतबहादुर शेरचन चुनावी मैदानमा छन्। ८ दल र २ स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा छन्। २५ मतदानस्थलमा ४५ केन्द्र राखिएको क्षेत्रमा मतदान शान्तिपूर्ण भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सबै केन्द्रका मतपेटिका इलाका प्रहरी कार्यालय बुर्तिबाङमा संकलन गरी गणनाका लागि सदरमुकाम ल्याउने तयारी भएको छ। बुर्तिबाङ सदरमुकाम बागलुङ बजारदेखि ९० किलोमिटर र निसीखोला गाउँपालिकाको भल्कोट १४२ किलोमिटर पश्चिममा पर्छन्। बागलुङकै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्ष पदमा पनि निर्वाचन भएको छ। वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिमा उपप्रमुख भएपछि पद रिक्त भएको थियो। वडामा १ हजार ७ सय ४२ मतदातामध्ये १ हजार १ सय १५ मत अर्थात् ६५ प्रतिशत खसेको छ।
लमजुङको सुन्दरबजार–२ को वडाअध्यक्ष पदका लागि भएको निर्वाचनमा ६६।३० प्रतिशत मत खसेको छ। स्थानीय तह निर्वाचनमा ७०।२४ मत खसेको थियो। २ हजार २ सय ९७ मतदातामध्ये १ हजार ५ सय २३ ले मतदान गरेका छन्। मतपेटिका सुन्दरबजारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। पूर्वी नवलपरासीको बौदीकाली–५ मा वडाध्यक्षका लागि भएको चुनावमा ७२।९ प्रतिशत मत खसेको छ। ८ सय ५३ मतदातामध्ये ६ सय १५ ले मतदान गरेका छन्। वडाध्यक्ष दलबहादुर खरु मगरको गत वर्ष निधन भएपछि वडामा चुनाव भएको हो।
कान्तिपुर दैनिकबाट