Logo

सीमा नै देख्‍न पाउँदैनन् सुरक्षाकर्मीले



काठमाडौँ, १५ मंसिर । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न पनि पाउँदैनन्। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाको भारतसँग सिमाना जोडिएका ठाउँमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्यसरह छ।

पाँचथर र इलाममा सीमा सुरक्षाका लागि स्थापित सुरक्षा चौकी पनि सिमानाभन्दा टाढा हुँदा सीमास्तम्भले मात्र देशको सिमाना जोगाएका छन्। ताप्लेजुङको ६१ किलोमिटर भारततर्फको सिमानामा त सीमास्तम्भ समेत छैनन्। पाँचथर र इलाममा सीमा क्षेत्रको रेखदेख र अनुगमन गर्ने ‘बोर्डर अब्जर्भेसन पोइन्ट’ बाट नेपाल–भारत सिमानामा पुग्नै घण्टौं लाग्छ। इलामको रोङ गाउँपालिकाको लोहागडदेखि सन्दकपुरसम्मको ५२ किलोमिटर नेपाल–भारत सीमाको रेखदेखका लागि ३० जना सशस्त्र प्रहरी खटाइएको एक वर्ष भयो। पशुपतिनगरमा बसेको सीमा पोस्टले १ सय ४६ पिलरको पहरेदारी गर्नुपर्ने जिम्मेवारी छ। एक वर्षअघि पशुपतिनगरको द्वारमा सशस्त्रको बोर्डर अब्जर्भेसन पोस्ट बीओपी ले सीमा अतिक्रमण हेर्नेलगायत काम गर्ने भए पनि भूगोलका कारण पूरै क्षेत्र ‘कभर’ गर्न समस्या भएको पोस्ट प्रमुख इन्स्पेक्टर पवन खड्काले जानकारी दिए। आफ्नै सिमाना हेर्न पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने सशस्त्रलाई सन्दकपुर पुग्न भारत हुँदै जानुपर्छ।

३५ जना दरबन्दीको पोस्टमा अहिले जम्मा ३० जना मात्र छन्। चौकीले सीमा अतिक्रमण, चोरी निकासी, मानव बेचबिखन, तस्करीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण गर्छ। गस्ती र अनुगमनका लागि २४ सै घण्टा सीमा सुरक्षामा जुट्नुपर्ने पोस्टले दैनिक पाउने जम्मा ३ लिटर इन्धनलगायत अपर्याप्त सुविधाले समेत काम प्रभावित पारेको उनले गुनासो गरे। पशुपतिनगरसँगै मानेभञ्याङ, छब्बिसे र सन्दकपुरमा बीओपीको माग भए पनि सरकारले सुनेको छैन। मानेभज्याङमा भने तत्काल पोस्ट राख्ने तयारी गरेको सशस्त्रले जनाएको छ। जिल्ला सुरक्षा समिति इलामले एक वर्षअघि नै पशुपतिनगरसँगै मानेभञ्ज्याङ, छब्बिसे र सन्दकपुरमा बीओपी राख्न स्वीकृति मागेको थियो। सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई भन्छन्, ‘सरकारले समयमा काम नगर्दा सीमा अतिक्रमण र नागरिकलाई दुःख दिनदिनै बढिरहेको छ।’ सशस्त्रको पछिल्लो विवरणअनुसार इलामको नेपाल–भारत सीमा क्षेत्रमा एउटा जंगे पिलर, १३ वटा मध्यम पिलर र २५ वटा साना पिलर हराएका छन्।

इतिहासविद् युद्धप्रसाद वैद्य सन्दकपुरको १० नम्बर सीमास्तम्भसँगै सीमा विवाद सुरु भएको बताउँछन्। उनका अनुसार मानेभञ्ज्याङ, पशुपतिनगर, हिले, गुफापाताल, छब्बिसेमा विवाद छ। ‘कतिपय स्थानमा सीमा छुट्याउन पनि गाह्रो छ,’ सीमा क्षेत्रका सबै पिलर छुँदै हिँडेको बताउने उनले सुनाए, ‘इलाममा पनि निरन्तर सीमा अतिक्रमण भइरहेको छ। नेपालले भारतसामु प्रमाण राम्ररी पेस गर्न नसकेकाले हामीले दुःख पाएका हौं।’ पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाको २४ दशमलव ८ किलोमिटर जमिन भारतीय राज्य पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। याङवरक स्थित तिम्बुपोखरीदेखि फालेलुङको फालोट हुँदै इलामको सन्दकपुरसम्म भारतसँग सीमा जोडिएको छ। नेपालले यो क्षेत्रमा एउटा पनि सुरक्षा निकाय राखेको छैन। सीमास्तम्भ हराएका छन्। बहुमूल्य जंगली जडिबुटी र वन्यजन्तुको चोरीनिकासी बढेको समरजुङका रमेश राईले बताए।

ताप्लेजुङसँग सीमा गाँसिएको तिम्बुपोखखरी क्षेत्रको ३५ नम्बर पिलरदेखि इलामको सन्दकपुरसम्म ९ वटा जंगेपिलरसहित १ सय १७ सीमास्तम्भ हुनुपर्नेमा केही स्तम्भ हराएका छन्। गत वर्ष सशस्त्र र नेपाल प्रहरीको टोलीले सीमास्तम्भ निरीक्षण गर्दा १९ स्तम्भ नभेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। नेपालले पाँचथरमा पर्ने सीमा क्षेत्र अनुगमन गर्न सीमा प्रहरी चौकी च्याङथापुमा राखेको छ। यहाँबाट सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ पुग्न २४ किलोमिटर उकालो हिँड्नुपर्छ। सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रको हिमशिखर गुल्मको क्याम्प सदरमुकाम फिदिममा छ। अर्को क्याम्प राँकेमा छ। यहाँबाट सीमामा पुग्न कम्तीमा २ दिन लाग्छ। सीमावर्ती क्षेत्रमा बीओपी राख्ने पहल भइरहेको पाँचथरका सीडीओ मुरारी वस्ती बताउँछन्। बीओपीका लागि याङवरक–२ तीनजुरेमा ५ रोपनी जमिन गाँउपालिकाले तयार गरेको छ।

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्