काठमाडौँ, १५ मंसिर । नेपालले विश्वका कुनै पनि भीभीआईपीलाई आतिथ्यता प्रदान गर्न सक्छ भन्ने प्रमाणित गरेको छ। खासगरी सुरक्षा निकाय र फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीको सक्षमताले विश्वका कुनै पनि राष्ट्रका राष्ट्रप्रमुखलाई नेपालले सुरक्षित ढंगले आतिथ्यता प्रदान गर्न सक्ने पुष्टि भएको हो। झण्डै डेढ वर्षको अवधिमा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख सम्मिलित आधा दर्जन बढी भीभीआईपी भ्रमणहरू भए, जुन भ्रमणका क्रममा कुनै पनि अप्रिय घटना हुन पाएन। यसको सम्पूर्ण जस नेपालको सुरक्षा र त्यसमा पनि फ्रन्टलाइनमा खट्ने नेपाल प्रहरीलाई नै जान्छ, जसको नेतृत्व सर्वेन्द्र खनालले गरिरहेका छन्।
सन् २०१८ को अगस्त ३० र ३१ मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सम्मेलन काठमाडौंमा सम्पन्न भयो। विगतका तीनवटा सम्मेलन थाइल्यान्ड, भारत र म्यानमारमा भएकोमा चौथो सम्मेलन नेपालमा भएको हो। बंगालादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको बिम्स्टेक सम्मेलनमा भारत, बंगालादेश र थाइल्यान्डका प्रधानमन्त्रीहरू तथा म्यानमार र श्रीलंकाका राष्ट्रपतिहरू सहभागी थिए। भीभीआईपीहरूसम्मिलित उक्त सम्मेलनमा कुनै पनि सुरक्षा खतराको अनुभव गर्नुपरेन। सुरक्षा निकायले सचेततापूर्वक त्यसको प्रबन्ध गरेको थियो। त्यस्तै सन् २०१८ को डिसेम्बरमा दुई दिनसम्म भएको एसिया प्यासिफिक समिटका बेलामा गरिएको सुरक्षा प्रबन्ध पनि उल्लेखनीय रहेको छ। ४५ देशका १५ सयभन्दा धेरै सहभागी उक्त समिटमा म्यानमारकी नेत्री आङ साङ सुची, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालयायतका विशिष्टहरूको उपस्थिति थियो। त्यस्तै ४० देशका ६ सयभन्दा धेरै लगानीकर्ता र प्रतिनिधिहरू सहभागी मार्च २९ र ३० मा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनका क्रममा पनि सुरक्षा प्रबन्ध कायम गर्न र सुरक्षा घुसपैठ रोक्न नेपाली सुरक्षा निकाय सफल भएको थियो।
छिमेकी चिनियाँ राष्ट्रपतिसहित अन्य मुलुकबाट भएका नेपालको उच्चस्तरीय भ्रमण कुनै सुरक्षा खतराको अनुभव हुन नदिई सफलतासाथ सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका प्रशंसनीय छ। त्यस्तै गत सेप्टेम्बरमा १५ देशका उच्च सुरक्षा अधिकारीहरूको सहभागितामा काठमाडौंमा नेपाल प्रहरी र आईसीआरसीको संयुक्त आयोजनामा तीनदिने प्रहरी सम्मेलन भयो। १५ एसियन राष्ट्रका २५ उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको उक्त सम्मेलन सुरक्षाका दृष्टिकोणले संवेदनशील थियो। पाकिस्तानदेखि श्रीलंकासम्मका उच्च तहका सुरक्षा अधिकारीहरू सहभागी भएको उक्त सम्मेलनमा कुनै सुरक्षा खतराको अनुभव हुन नदिई सफलताका साथ सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका प्रशंसनीय छ। यस्ता महŒवपूर्ण कार्यक्रमहरू विनासुरक्षा खतरा सम्पन्न भएको परिदृश्यमा अक्टोबरमा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आए।
भारतदेखि अमेरिकासम्मको ध्यानाकर्षण गरेको यो भ्रमणमा सुरक्षा प्रबन्धको विषय निकै चुनौतीपूर्ण रहेको थियो। तिब्बतको विषयले चर्चा पाएको र चीनविरुद्ध प्रदर्शन हुन सक्ने सम्भावना उच्च थियो। मिडियाहरू पनि कतै चीनविरुद्ध तिब्बतीहरूको प्रदर्शन होला कि भन्दै कभरेजका लागि निकै चनाखो देखिन्थे। सानो प्रदर्शन भएको भए पनि त्यसले सिंगै राष्ट्रपतिको भ्रमणलाई ओझेलमा पार्ने गरी अन्तर्राष्ट्रिय मिडियामा समेत कभरेज पाउने निश्चित थियो। खासगरी नेपालमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै आएको नेपालका लागि यो विषयले ठूलै राजनीतिक महŒवसमेत राख्थ्यो। तर उच्च सुरक्षा सतर्कताका कारण भ्रमण अवधिभर न त कुनै चीनविरोधी गतिविधि वा प्रदर्शन हुन पायो न त कुनै सुरक्षा खतराको अनुभव नै हुन पायो। चारवटै सुरक्षा निकायहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू परिचालन गरिएको थियो भने सबैको भूमिका प्रभावकारी देखिएको थियो। तर प्रदर्शन वा कुनै पनि गतिविधि रोक्नुपर्ने फ्रन्टलाइनमा भने नेपाल प्रहरी खटिएकाले त्यस्ता गतिविधिको जस वा अपसज नेपाल प्रहरीले बेहोर्नुपर्ने थियो। अन्तत ः नेपाल प्रहरीले कुनै अपजस बेहोर्नुपरेन, सबै सुरक्षा निकायहरूको राम्रो प्रशंसा भयो। सुरक्षा प्रबन्ध हेर्न प्रधानमन्त्री आफैं सडकमा निस्कनुका साथै भ्रमणपछि सुरक्षा निकायहरूको प्रशंसा गरेका थिए।
त्यस्तै चीनका राष्ट्रपति पनि आफ्नो भ्रमणका बेलामा चीनविरोधी कुनै गतिविधि नहुँदा निकै खुसी भएर फर्किए। बरू त्यसको ठीक अगाडि भारत भ्रमणका रहेका बेला उनले चीनविरोधी प्रदर्शनहरूको सामना गर्नुपरेको थियो। तिब्बती समूहहरूले चीनविरोधी नारा लगाउँदै विभिन्न स्थानमा प्रदर्शनसमेत गरेका थिए। यसको कभरेज विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले प्राथमिकताका साथ गरेका थिए। तर नेपालमा त्यस्तो कुनै पनि अवस्थाको सामना गर्नुनपरेपछि चीनका राष्ट्रपति मात्र खुसी भएनन्, यसले सुरक्षाका दृष्टिले नेपालले जस्तोसुकै भीभीआईपी भ्रमणको पनि आयोजना गर्न सक्छ भन्ने प्रमाणित भयो। त्यसैबाट उत्साहित भएको नेपाल सरकारले रूसका वा अमेरिकाका राष्ट्रपतिको समेत भ्रमण गराउन इच्छा देखाएको थियो। चीनका राष्ट्रपतिको भ्रमणलगत्तै केही दिनअगाडि बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चारदिने नेपाल भ्रमण सम्पन्न भयो। उनको भ्रमणमा पनि चारवटै सुरक्षा निकायको परिचालन गरिएको थियो। र, चुस्तदुरुस्त सुरक्षा प्रबन्धका साथमा उनको भ्रमण सकियो। काठमाडौं, भक्तपुर र पोखराका विभिन्न स्थानको भ्रमण गरेर उनी खुसीसाथ स्वदेश फर्किए। यीबाहेक चीनका विदेशमन्त्रीलगायत कैयन भ्रमण विनाकुनै सुरक्षा खतरा सम्पन्न भएका छन्।
नेपाल–भारत खुला सिमाना र विमानस्थलको कमजोर सुरक्षा हुँदाहुँदै पनि कुनै घुसपैठ वा गतिविधि हुन नदिई विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरूको भ्रमण विनासुरक्षा खतरा सम्पन्न गराउन सक्नुले रूस, अमेरिका वा कुनै पनि देशका राष्ट्रप्रमुखहरूलाई नेपालमा विनाआशंका भ्रमण गर्नका लागि बाटो खोलिदिएको छ। यसका लागि नेपालका सबै सुरक्षा निकायहरू तालीका भागीदार छन् भने नेपाल प्रहरीले दक्षिण एसियाका अन्य प्रहरी संगठनको तुलनामा अब्बल र उत्कृष्ट रहेको दाबीलाई पुष्टि गरिदिएको छ। यो प्रशंसाको भागीदार नेपाली प्रहरीको सिंगो संगठन, त्यसका अधिकारीहरू र नेतृत्व गरिरहेका सर्वेन्द्र खनाल छन्। तर एकदुई घटनालाई देखाएर सिंगो सुरक्षा व्यवस्थामा प्रहरीको क्षमतामाथि प्रश्न उठाउन मिल्दैन।
किशोर पन्थीले आजको अन्नपूर्ण पोष्ट्मा लेख्नु भएको आलेखको सम्पादित अंश ।