काठमाडौँ, १५ मंसिर । देशका ३७ जिल्लाका ५ सय ३७ मतदान केन्द्रमा शनिबार भएको उपनिर्वाचनमा कूल मतको ६५ दशमलब ४३ प्रतिशत मत खसेको पाइएको छ। सवैभन्दा कम मत रोल्पाको थवाङ गाउँपालिकामा खसेको छ।
यो समाचार तयार पार्दासम्म प्राप्त प्रारम्भिक विवरणको आधारमा प्रक्षेपण गर्दा यो मत प्रतिशत विगतको निर्वाचनको तुलनामा केही कम भएको निर्वाचन आयोगले जनाएको छ। विगतमा ७० प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार कूल ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेकोमा शनिबार २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरे।
हुम्लाका केही जिल्लाबाहेक मतपेटिकाहरू राति ११ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने र आइतबार दिउँसोसम्म ५० प्रतिशत ठाउँको नतिजा आउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए। कास्की, दाङ, सर्लाही, डोटी र लमजुङका मतदान केन्द्र नजिक अवरोध गर्ने उद्देश्यले अप्रिय घटना भए पनि मतदान नरोकिएको आयोगको दावी छ।
नेपाल समाचारपत्रबाट