काठमाडौ, १५ मंसिर । दक्षिण एशियाली खेलकुदको महाकुम्भ साग शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन गरेकी छिन् । उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट अतिथि सहभागी भए ।
सागमा सहभागी सातै देशका खेलाडी र खेल पदाधिकारी मार्चपासमा सहभागी भए । मार्चपासमा नेपालको झण्डा भारत्तोलनका किर्तिमानी राष्ट्रिय खेलाडी कमल अधिकारीले बोके ।
सागको उद्घाटनमा झाँकी निकालिएको थियो । नेपाली खेलाडीहरुले मार्चपासमा निकै खुशीसाथ सहभागिता जनाए ।
सन् १९८४ मा पहिलो साग गरेको नेपालले तेस्रोपटक प्रतियोगिता गर्न लागेको हो । दशरथ रङ्गशालामा सागको उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि खेलहरु शुरु भएका छन् ।
सागमा नेपालको प्रदर्शनमा उतारचढाव रहनसक्छ । सन् १९९९ मा काठमाडौंमा भएको साग खेलकुदमा नेपालले सबैभन्दा बढी पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । पहिलो सागमा नेपालले चौंथो स्थान हासिल गरेको थियो ।
यसपटक नेपालले दोस्रो स्थान हासिल गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले दोस्रो स्थान पक्का गर्ने लक्ष्यका साथ तयारी भएको बताए । नेपालले उद्घाटन नहुँदै महिला भलिबलमा कम्तिमा रजत पदक पक्का गरिसकेको छ । नेपालले फाइनलमा भारतसँग भिड्दैछ ।