Logo

सामाजिक सुरक्षा भत्ताले दैनिकी सहज



काठमाडौँ, १७ मंसिर । हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै हुनुहुन्थ्यो, आशिष रायमाझी । लुगा व्यापारीसँग सहज रूपमा साङ्केतिक भाषामा बोलिरहेका उनले छोरीका लागि रातो जामा खरिद गरे । लुगा खरिद गरेपछि खुसी देखिनुभएका रायमाझीले साङ्केतिक भाषामा भने, “म बहिरा भए पनि खुसी छु । मलाई विचरा भनेर सान्त्वना दिनु पर्दैन । हातखुट्टा बलिया छन् । परिवारको रेखदेख र खुसी राख्न सक्ने क्षमता मसँग छ । ” उनले भने, “सामाजिक सुरक्षा भत्ताले हामीजस्तालाई सहज बनाएको छ । अझ पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यो पैसाले कसैसामु हात फैलाउनु नपर्ने अवस्था सिर्जना भएको छ । ”

अहिले सञ्चार तथा प्रविधिले हामीलाई पनि देश विदेशसँग जोडेको र आफूले विदेशमा रहेका साथीसँग सजिलै भिडियो कल गर्ने गरेको अनुभव रायमाझीले बताए। विद्यालयमा छोरीलाई केही प¥यो भने पनि शिक्षकहरू भिडियो कल गर्नुहुन्छ भन्दै रायमाझीले भने, “त्यस बेला मलाई पनि आफू अपाङ्गता भएको व्यक्तिजस्तो लाग्दैन । ” अष्टलक्ष्मी जोशी पनि बोल्न र सुन्न सक्नुहुन्न तर पनि सौन्दर्य व्यवसायमा आबद्ध छिन् । २५ वर्षदेखि यस व्यवसायमा आबद्ध उहाँ आफूप्रति गर्व गर्छिन् । साङ्केतिक भाषामै बोल्नुपर्छ । कसैले भने बुझ्दैनन् त्यस्तो अवस्थामा लेखेर बुझाउनुहुन्छ । ग्राहकको हाउभाउले नै के गर्ने भन्ने बुझिन्छ । उनी भन्छिन्, “मानिसमा आँट र जाँगर चाहिन्छ, जे काम पनि गर्न सकिन्छ । ग्राहकहरूले मलाई फोनमा सम्पर्क गर्छन्, त्यो बेला धेरै खुसी लाग्छ । ”

‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ नाराका साथ मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव पशुपति महतले अपाङ्गतामैत्री राज्य बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए। २०६८ सालको जनगणनाअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या साढे पाँच लाख छ । सामाजिक सुरक्षा भत्ताले अपाङ्गता भएका व्यक्तिहरूको जीवन निर्वाह सहज भएको बुझाइ महतको छ । यस्तै राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले पनि पहिलेभन्दा अहिले दैनिकी अलि सहज भएको बताए। उनले प्रविधिको विकासमा सुविधाहरू भए पनि रोजगारीमा भने राज्यको तर्फबाट सुविधा नभएको प्रस्ट पार्दै अपाङ्गता भएका पाँच प्रतिशत कोटामा धेरै कमले मात्र अवसर पाउन सफल हुन्छौँ ।

“बहिराहरूको जीवनयापनमा सुन्ने र बोल्ने भाषासरह हामी साङ्केतिक भाषा प्रयोग गर्छौं”, अधिकारीले थपे, “अहिले तीन लाखको हाराहारीमा बहिरा छौँ । नेपालभरि ४४ जिल्लामा बहिरा सङ्घ छन् भने बहिराका लागि २१ वटा विद्यालय छन् । ” उनले उपत्यकामा केन्द्रीय बहिरा विद्यालय तथा क्याम्पस रहेको जानकारी दिँदै चार सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। जनगणना २०६८ का अनुसार १ दशमलव ९४ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको अपाङ्गता छ । त्यसमध्ये १५ दशमलव ५ प्रतिशत व्यक्ति बहिरा तथा सुस्त श्रवण अपाङ्गता भएको बताएको छ । विश्वका विभिन्न देशले आआफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका छन् । नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालबाट सुरु भएको हो । २०४५ सालअघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका चार हजार सात सय शब्द अनुमोदन भइसकेको महासङ्घले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन तथा विश्व बैङ्कका अनुसार विश्वको कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् ।
अपाङ्गता भएका व्यक्तिको २८आँै अन्तर्राष्ट्रिय दिवस मूल आयोजक समिति सचिवालयका अनुसार अपाङ्गता भएका व्यक्तिहरूमध्ये ८१।४ प्रतिशतको स्वास्थ्य अवस्था अपाङ्गता नभएका व्यक्तिहरूको तुलनामा निकै दयनीय छ । ६१ प्रतिशत विभिन्न प्रकारका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको सिकार हुन्छन् । २४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हिंसा र दुव्र्यवहारको सिकार हुने गर्छन् । नेपालमा अपाङ्गताको समयमै पहिचान गर्ने विधि, प्रणाली र प्राविधिक क्षमता अत्यन्तै कमजोर छ ।

नेपालको कानुनअनुसार अपाङ्गता परिचयपत्र सेवा सुविधामा पहुँच हासिल गर्ने सबैभन्दा मुख्य ढोका हो । तर
हालसम्म ९जनगणना २०६८ अनुसार० कुल अपाङ्गता भएका व्यक्तिको सङ्ख्याको केवल ४९ प्रतिशतले मात्र अपाङ्गता परिचयपत्र पाएका छन् । नेपालमा अपाङ्गता भएका महिलाको अवस्था थप सीमान्तकृत र जोखिमपूर्ण छ । अपाङ्गता भएका महिला अधिकांश यौन दुव्र्यवहार, बलात्कार र घरेलु हिंसाको सिकार हुने गरेका छन् । धेरै अपाङ्गता भएका महिलाले प्रजनन स्वास्थ्यको हक उपभोग गर्न पाएका छैनन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्