काठमाडौँ, १९ मंसिर । पदक चुम्दा धेरै खेलाडी रोएको दृश्य स्वभाविक मानिन्छ । ती हर्षमिश्रित आँसु हुन्छन् । खुसी र भावना प्रस्फुटित भइरहेको हुन्छ त्यस्तो रुवाइमा । बुधबार सातदोबाटोस्थित सुटिङ रेञ्जमा सीमा तुलाधर पनि निकै बेर भक्कानिइन् । तर उनको नयनबाट खुसीका होइनन्, दुःखका आँसु एकनास बगिरहेका थिए ।
आफ्नो पेस्तोलले काम नगरेपछि श्रीलंकन टिमको सामग्री प्रयोग गर्न लैजाँदै नेपाली खेलाडी । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत अधिकांस स्पर्धा सातदोबाटोमै भइरहेका छन् । छेउमै कराते र तेक्वान्दोका खेलाडीले स्वर्ण पदकको हर्षबढाइँ गरिरहँदा सीमा भने २५ मिटर स्पोर्ट्स पेस्तोलतर्फको स्पर्धाबाट बाहिरिएकी थिइन् । कारण थियो, बीचमै उनले प्रयोग गरिरहेको पेस्तोल नपड्किनु । ‘फायर गर्दा पेस्तोल बीच–बीचमा जाम भइरहेको थियो,’ उनले सुनाइनन्, ‘नयाँ दिनुस् भन्दा पनि टेरेनन् । मेडलको आसमा खेलिरहेकी थिएँ । भविष्य नै बर्वाद हुने भयो ।’
खेल भइरहेकै बेला सीमाले सुटिङ संघकै त्रिलोचन ढकाललाई भनिन् पनि, ‘कुनै अन्य देशकै खेलाडीको पेस्तोल भए पनि एकछिनलाई मागिदिनुस् सर ।’ त्रिलोचन पेस्तोलका लागि निकैबेर भौंतारिए । त्यतिन्जेलसम्म खेल सुरु भइसकेको थियो । ‘उहाँले पनि के गर्न सक्नुहुन्थ्यो र रु,’ सीमालाई थुम्थुमाइरहेकी टिम म्यानेजर प्रतिमा शाहले भनिन्, ‘जुन देशसँग प्रतिस्पर्धा भइरहेको छ, तिनकै हतियार मागेर खेल्नुपर्ने बिडम्बना छ । यस्तोमा खेलाडीको मनोबल कसरी उच्च रहला रु’ सीमा घरेलु प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट खेल्छिन् । उनी बुधवार विभागीय टोलीले नै प्रशिक्षणमा प्रयोग गर्ने पेस्तोल चलाइरहेकी थिइन् । प्रमुख प्रशिक्षक उपेन्द्र थापाले गोलीहरू ओस्सिएर ‘मिस फायर’ भएको हुनसक्ने बताए ।
कान्तिपुर दैनिकबाट