Logo

सीमा रक्षाका विषयमा सबै दल एकजुट : झलनाथ खनाल



काठमाडौं, १९ मंसिर । सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिइने स्पष्ट पारे ।

पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए। सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उनको भनाइ थियो ।

उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले भने,“राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।”

पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ ।

गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्