काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २१ महिनाको अवधिमा मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै उपत्यकाका सडक पिच र खाल्डाखुल्डी पुर्ने काम धमाधम हुन थालेको छ ।
गत ४ मंसिरमा प्रधानमन्त्री ओलीले केही मन्त्री परिवर्तन गरेका थिए भने केहीको मन्त्रालय परिवर्तन गरेका थिए । त्यसलगत्तै उनले मन्त्रीहरूलाई उपत्यकाको सडक पिच गर्न र खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।
उनले नयाँ मन्त्री र सचिवहरूसँग काठमाडौंमा खाल्डाखुल्डी र धुलोको गीत कति सुन्ने भन्दै आक्रोस पोखेका थिए । प्रधानमन्त्रीले ठेक्का लिएर आलटाल गर्ने ठेकेदारको ठेक्का रद्द गर्नसमेत निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीकै चासो बढेपछि गत वर्षहरूमा असार मसान्तमा बजेट फ्रिज हुनबाट जोगाउन हतारहतार काम हुने गरेकोमा यसपटक भने हिउँदमा नै विकासको काम देखिन थालेको छ ।
उपत्यकाका विभिन्न सडकमा केही दिनदेखि पुराना सडकमा पिच गर्ने काम भइरहेको छ । उपत्यकाका सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने काम पनि धमाधम भइरहेको हो । प्रधानमन्त्री कार्यालयले नै सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने कामको अनुगमन गरिरहेको पाइएको छ ।राजधानी दैनिकबाट