काठमाडौँ, २२ मंसिर । सन् १९८२ मा धुलिखेलको बोटोलबाट बाह्रौं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति हरायो। हराएको तीन वर्षपछि उक्त मूर्ति जर्मनको बर्लिन सहरमा भेटियो। बर्लिनका एक जना आर्ट डिलरले उक्त मूर्ति संग्रहालयलाई जर्मनी मार्क एक लाख नेपाली करिब एक करोड रुपैयाँमा बेचेका थिए। नेपाल फर्काएपछि पाटन संग्रहालयको दोस्रो तलामा प्रदर्शनीमा राखिएको उक्त मूर्तिको सार यही लेखिएको छ।
दरबार हेरचाह तथा सम्पदा संरक्षण विभाग ललितपुरका प्रमुख सन्दीप खनालका अनुसार नेपालबाट हराएर विदेश पुगेको र औपचारिक रूपमा नेपाल फर्काइएको पहिलो मूर्ति हो उमामहेश्वरको। उक्त मूर्र्ति सबै प्रक्रिया पूरा गरेर सन् २००१ मा नेपाल ल्याइएको हो। ‘नेपालमा अफिसियल्ली फर्काइएको मूर्ति हो यो’, खनालले भने, ‘हराएका अन्य मूर्ति फर्काउन सकिएको छैन।’ नेपाली साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका लैनसिंह वाङ्देलले लेखेको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’ १९८९ मा प्रकाशन भएपछि उक्त मूर्ति नेपाल फर्काइएको थियो।
ढुंगामा कुँदिएको उक्त मूर्ति निकै आकर्षक देखिन्छ। उमामहेश्वर शिव पार्वती ललितासानमा बसेका छन्। कैलाश पर्वतमा बाघको छालामाथि बिन्दास मुद्रामा बसेका शिव कानमा मुद्रा, घाँटीमा नेकलेस, चुरा, ताजलगायत गहनामा सजिएका छन्। पार्वती उनीसँगै टाँसिएर बसेकी छन्। खनालका अनुसार उमामहेश्वरको मूर्ति नेपाल फर्काइए पनि अन्य थुप्रै मूर्ति कहाँ छन् भन्ने जानकारी छैन। वाङ्देलले लेखेअनुसार ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका दर्जनांै मूर्ति पाटनबाट चोरी भएका छन्।
वाङ्देलले उल्लेख गरेअनुसार पाटनको कुम्भेश्वर कुन्तिबाही चैत्यबाट छैटौं शताब्दीमा बनेको ‘बसिरहेका बुद्ध’ को मूर्ति चोरी भएको थियो। उक्त मूर्ति सन् १९८५ अप्रिलमा चोरिएको हो। त्यस्तै, सूर्य भगवान्को अर्को मूर्ति पाटनको सौगलबाट १९८५ मा हराएको थियो। उक्त मूर्ति सन् १०८३ मा बनेको थियो। पाटनकै गहिटीबाट दशौं शताब्दीमा बनेको अर्को उमामहेश्वरको मन्दिर सन् १९६० को बीचतिर हराएको थियो। नकबाही पाटनबाट दशौं शताब्दीमा बनेको उभिएको बुद्धको मूर्ति १९७० मा चोरिएको थियो। कुम्भेश्वरबाटै चौधौं शताब्दीमा बनेको उमामहेश्वरको अर्को मूर्ति १९८५ को अक्टोबरमा हराएको वाङ्देलले उल्लेख गरेका छन्। पाटन भिन्ची बहालबाट पनि उभिएका बुद्धको अर्को मूर्ति १९८२ मा हराएको र नवौं शताब्दीमा बनेको भनिएको छ। अर्का उभिएका बुद्ध पाटन नाकबाही चैत्यबाट हराएको थियो। दशौं शताब्दीमा बनेको मूर्ति सन् १९७० तिर हराएको हो। त्यस्तै, कुन्तिबाही चैत्यबाटै अर्को नागराजाको मूर्ति चोरिएको छ। चौधौं शताब्दीमा बनेको उक्त मूर्ति १९८५ को जुलाई २० मा हराएको पुस्तकमा उल्लेख छ।
पाटनको यम्पीबहालबाट अर्का उभिएका बुद्धको मूर्ति सन् १९८२ मा हराएको थियो। उक्त मूर्ति नवौं शताब्दीमा बनेको थियो। तबहालबाट दशौं शताब्दीमा बनेको बज्रपुरुषको मूर्ति १९८३ मा हराएको थियो। नवौं शताब्दीको बोधिसत्ता पद्मापाणि, गुइटोल पाटनबाट १९८१ मा हराएको थियो। लक्ष्मीको मूर्ति पाटन शंखमूलबाट हराएको हो। उक्त मूर्ति दशौं शताब्दीमा बनेको र १९७० मा हराएको हो। पुल्चोकमा रहेको गणेश मन्दिरबाट पनि बाह्रौं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति सन् १९८५ मा चोरियो। पाटनको यम्पीबहालबाट आठौं शताब्दीमा बनेको बुद्धको मूर्ति १९८५ मा चोरिएको छ। चौधौं शताब्दीमा बनेको बुद्धको अर्को मूर्ति पनि पाटनको अल्कोहिटीबाट सन् १९७० मा हराएको बताइएको छ। गरुडासन विष्णुको मूर्ति कुम्भेश्वरबाट हराएको छ। उक्त मूर्ति १३ औं शताब्दीमा बनेको र १९७० मा हराएको भनिएको छ। पाटनको नारायण मन्दिरबाट १५औं शताब्दीको वासुदेव कमलाजाको मूर्ति १९८४ मा चोरिएको छ।
कुम्भेश्वरधाराबाट विष्णु, लक्ष्मी र गरुडको मूर्ति सन् १९८५ मा हराएको थियो। पाटन सुन्धाराबाट सूर्यको अर्को मूर्ति सन् १९८० मा हरायो। ताराको बाह्रौं शताब्दीमा बनेको मूर्ति सन् १९८० तिर अल्कोहिटी पाटनबाट चोरिएको थियो।
अन्नपूर्ण पोष्ट्बाट