काठमाडौं, मंसिर २२ । बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगका कर्मचारी र कामदारलाई भुक्तनी गर्ने तयारी गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त उद्योगका अवकाश प्राप्त कर्मचारी तथा कामदारलाई तेस्रो र अन्तिम चरणको भुक्तानी गर्ने तयारी गरेको हो।
मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलकाअनुसार अवकाश प्राप्त तीन सय १९ कर्मचारी र कामदारलाई भुक्तानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उनकाअनुसार बैंक खाता नभएका छुटफुट केही कर्मचारीको यकिन गरी भुक्तानीका लागि नामावलीसमेत प्रकाशन गरिसकिएको छ। उद्योग परिसरका कर्मचारी एक सय १६, कामदार एक सय ७१ र काठमाडौं तथा विभिन्न डिपोमा कार्यरत ३२ कर्मचारी गरी तीन सय १९ जनालाई भुक्तानी गर्न बाँकी छ।
मन्त्रालयकाअनुसार यसरी तेस्रो तथा छुटफुट दोस्रो चरणको कामदार र कर्मचारीलाई भुक्तानी दिन करिब ३४ करोड बाँकी छ। उमेर हद, स्वेच्छिक र सरकारले दिएको अनिवार्य अवकाशका कारण कर्मचारी र कामदारलाई कुल ९४ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने मन्त्रालयले यकिन गरेको थियो। यसमध्ये ५५ करोड भुक्तानी गरिसकिएको छ।अन्नपूर्ण पोस्ट्बाट