Logo

सीमा अतिक्रमण हुन नदिएको सामुदायिक विद्यालय तीन दशकदेखि आलानी जग्गामा



२२ मङ्सिर : झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३)मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि आलानी जग्गामै रहेको छ ।

भवन र खेल मैदान गरी एक बिघा एक कट्ठा जग्गामा विद्यालय रहेको प्रधानाध्यापक चमकलाल राजवंशीले बताए । खेल मैदानको बीचमा भारतले सीमा स्तम्भ गाडेको बताउँदै उनले विद्यालयकै कारण सो ठाउँको नेपाली भूमि अतिक्रमणबाट जोगिएको सुनाए । विसं २०४४ सालमा त्यो क्षेत्रका अधिकांश जग्गा ऐलानी थियो । स्थानीयवासीले सो क्षेत्रमा खेती गर्ने गर्थे । त्यस क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएपछि कैलाश राई र चिरेन राजवंशीको पहलमा विद्यालय स्थापना भएको हो ।

विसं। २०४६ सालमा बहुदल आएपछि बनेको सुकुम्वासी आयोगले जोतभोगका आधारमा त्यो ठाउँको जग्गाको लालपूर्जा वितरण गरेको स्थानीयवासी अनय राजवंशीले बताए । विद्यालयको सो जग्गाको धनीपूर्जा मन्त्रालयले नै निर्णय गर्नुपर्ने भन्दै नदिएको विद्यालयका शिक्षक बताउँछन् । सो विद्यालयले कित्ता नं ४१७, २२९, २३०, २३७, २३९ र २४३ भोगचलन गरिरहेको छ ।

साविक महेशपुर गाविसले पटक–पटक जिल्ला शिक्षा कार्यालयलाई सो जग्गाका लागि सिफारिस गरे पनि विद्यालयले उपयोग गरेको जग्गाको धनीपूर्जा पाउन सकेको छैन । विद्यालयको जग्गा कुन–कुन हो भन्ने छुट्याउन नसक्दा भौतिक संरचना निर्माणमा समस्या भएको प्रधानाध्यापक राजवंशीले बताए । हाल विद्यालयले धनीपूर्जाका लागि स्थानीय निकायसँग पहल गरिरहेको उनले सुनाए ।

विद्यालयको बाल कक्षामा २४ जना, कक्षा–१ मा २१, कक्षा–२ मा १५, कक्षा–३ मा १५, कक्षा–४ मा १०, कक्षा–५ मा १०, कक्षा–६ मा १४ र कक्षा–७ मा १५ गरी १२४ विद्यार्थी अध्ययनरत छन् ।

राजवंशी, गणेश, कुर्मी र सन्थालको बढी बसोबास रहेको डोलो गाउँ, भाङ्बारी, धिरेन टोल र कृष्णे गाउँका बालबालिका अध्ययन गर्ने यो विद्यालय मेचीपारिको एउटै मात्र विद्यालय हो । सो क्षेत्रका बालबालिकाले नेपाली भाषा राम्रोसँग नबुझ्ने भएका कारण राजवंशी भाषामा बुझाउनुपर्छ । “विद्यार्थीलाई जसरी पनि बुझाउनुपर्छ”, प्रधानाध्यापक राजवंशीले भने, “सबैले राजवंशी भाषा बुझ्ने भएकाले त्यही भाषामा भए पनि बुझाउने गरेका छौँ ।”

विद्यालयको आन्तरिक स्रोत नभएको बताउँदै उनले भने , “विद्युत् महसुल बुझाउन पनि अभिभावकसँगै पैसा माग्नुपर्छ ।” विद्यालयमा खानेपानीसमेतको समस्या भएको बताउँदै उनले स्थानीय निकायले विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

विसं। २०७२ सालदेखि विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । अहिले जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छ वटा र अन्य दाताले दिएका चार वटा गरी विद्यालयमा १० वटा कम्प्युटर छन् । विद्यालयमा सात जना शिक्षक छन् । सबैभन्दा बढी विद्यार्थी भएको बाल कक्षामा एक जना मात्र शिक्षक हुँदा समस्या भएको छ ।



प्रतिक्रिया दिनुहोस्