Logo

वामदेव गौतमले प्रधानमन्त्री बन्न बनाए रणनीति



काठमाडौं, २२ मंसिर । सरकारले आगामी मन्त्रिपरिषद बैठकबाट राष्ट्रियसभामा रिक्त हुने एक तिहाई सदस्यका लागि चुनावको मिति घोषणा गर्ने भएको छ । रिक्त हुनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने भएकाले आगामी माघ १५ भित्र चुनाव गराइसक्नुपर्ने हुन्छ ।

सरकारले चुनावको मिति तोक्दै गर्दा सत्तारुढ दल नेकपाभित्र राष्ट्रिय सभामा हेभिवेटहरुको प्रवेशको सम्भावना बढेको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लान प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । तर, गौतमले प्रधानमन्त्री बन्ने ढोका खुल्ने भएमात्र राष्ट्रिय सभामा जाने शर्त राखेका छन् ।

रिपोर्टर्स नेपालले गौतमले राष्ट्रिय सभामा जान शर्त तेर्साएको खुलासा गरिसकेको छ । उनले संविधान संशोधन गरी तल्लो र माथिल्लो सदनको सांसद दुवैलाई प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न ओलीलाई भनिसकेका छन् । हाल प्रतिनिधिसभा सदस्यमात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ । चुनावमा पराजितले मन्त्री समेत बन्न नपाउने व्यवस्था छ ।

गौतमले कास्की २ बाट चुनाव लड्ने चाहना राखेपनि रोकिएका थिए । उनलाई अन्र्तघातको आशंका भयो । बर्दियामा पनि उनीमाथि अन्र्तघातको विषय उठ्यो ।

मन्त्री खान सरकारमा नजाने वामदेवको अडान देखिइसकेको छ । अब आफू प्रधानमन्त्री बन्ने दौडमा रहेको संकेत गरिसकेका छन् । उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छन् । त्यसका लागि संविधान संशोधन गरी राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्नसक्ने गरी ढोका खोल्न खोजिरहेका छन् । यसो भएमा उनी राष्ट्रियसभा सदस्य बन्न तयार देखिएका छन् ।- File Photo



प्रतिक्रिया दिनुहोस्