Logo

सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्छौं : प्रचण्ड



काठमाडौं, २२ मंसिर। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताएका छन् ।

आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको बिद्यालय भवन उद्घाटन गर्दै उनले आफुहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको बताउनुहुँदै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिए।

शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा हुन नसक्ने उनको भनाई थियो । व्यवसायीक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताए। निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने उनको भनाई थियो ।

त्यसैगरी श्री नारायणजन माध्यमिक विद्यालय, मच्छेगाउँको भवन हस्तान्तरण तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आजै उनले आफूहरुले जनताको जीवनमा सकारात्मक सन्देश दिने र रोजगारमूलक शिक्षाको कुरा गरेको बताए। अध्यक्षले समाज र राष्ट्रको लागि योगदान दिन सक्ने क्षेत्र भनेको शिक्षा नै भएको बताए ।



प्रतिक्रिया दिनुहोस्